धादिङ बेसीमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०७५, १५ : ५६
धादिङ बेसीमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण

धादिङ । विश्व क्यान्सर दिवसको अवसर पारेर रोटरी क्लव अफ धादिङ, रोटरी क्लव अफ नारायणगढ र रोटरी क्लव अफ यलको संयुक्त आयोजनामा तथा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलको प्राविधिक सहयोगमा माघ १२ गते शनिवार नमुना सामुदायिक पोलिक्लिनिक धादिङ बेसीमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण सम्बन्धी एकदिने शिविर सम्पन्न भएको छ । उक्त शिविरमा धादिङ बेसी लगायत दूर्गम भेगबाट आएका महिलाहरूको परीक्षण गरिएको थियो ।

करीब १५६ जना महिलाहरूको परिक्षण गर्दा ९ जनामा VIA पोजिटिभ देखिएको सो शिविरमा संलग्न तथा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरका गाइनो अङ्कोलोजिस्ट डा. जितेन्द्र परियारले बताउनु भयो । VIA TEST  गरी पोजिटिभ देखिएका ९ जना महिलाहरूलाई उनिहरूको आर्थिक अवस्थालाई दृष्टिगत गरी काठमाण्डौसम्म जाने आउने खर्च रोटरी क्लब अफ धादिङले र नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टर, जावलाखेलको तर्फबाट न्यूनतम शुल्कमा बिशेष उपचार व्यवस्था गरिदिने सहमति भएको रोटरी क्लब अफ धादिङका अध्यक्ष गोबिन्द बुढा थोकी र डा. जितेन्द्र परियारले जानकारी दिनुभयो । 

सो शिविर सम्पन्न गर्नको लागि रोटरी क्लब अफ यलबाट बिशेष सहयोग प्राप्त भएको थियो भने सोही क्लबका पूर्व अध्यक्ष तथा रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भूटानका पूर्व डिष्ट्रिक गभर्नर दिलेन्द्रराज श्रेष्ठ, स्पाउज क्लब यलका सदस्यहरूका साथै रोटरी क्लब अफ नारायणगढको तर्फबाट अध्यक्ष रमेश पौडेल, संस्थापक अध्यक्ष तथा रोटरी क्लब अफ धादिङको गभर्नर स्पेशल रिप्रिजेन्टेटिभ निरञ्जन प्रधान, सदस्यहरू राजाराम सिटौला र बसन्तबहादुर पाण्डेको विशेष उपस्थिति रहेको थियो । शिविरको संयोजन निरञ्जन प्रधानले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस