हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना

ठेकेदारको ढिलासुस्तीले अर्बौको आयोजना अलपत्र

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०७५, १२ : ४०
ठेकेदारको ढिलासुस्तीले अर्बौको आयोजना  अलपत्र

भरतपुर । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अलपत्र परेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अर्बाैंको आयोजना ९ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । 
विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त तीन अर्ब ८० करोड ९९ लाख ६० हजार ४१३ रूपैयाँभन्दा बढी लगानी रहेको सो आयोजना सम्पन्न हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । 
सो आयोजनाअन्तर्गत आँपटारीस्थित २२० केभी सवस्टेसन, ७२ किमी हेटौँडा–भरतपुर प्रसारण लाइन र ७३.५ किमी भरतपुर–बर्दघाट प्रसारण लाइन रहेका छन् ।
झोन्डिङ इन्टरनेसनल कम्पनी लिमिटेडसँग तीन वर्षभित्र आँपटारीस्थित २२० केभी सवस्टेसन निर्माण सम्पन्न गर्ने सम्झौता भएकोे थियो । सम्झौता भएको नौ वर्षमा जम्मा ९० प्रतिशत प्रगति देखिएपछि यसको ठेक्का रद्द गर्ने तयारी भएको आयोजनाका प्रमुख ईश्वरी जैसवालले बताउनुभयो ।
आँपटारी जंगलभित्र १२ बिघा जमिनमा निर्माणाधीन २२० केभीको विद्युत् सवस्टेसनलाई हाल १३२ केभीमा चार्ज गर्ने गरी काम भएको छ ।
सवस्टेसन निर्माणका लागि सन् २००९ डिसेम्बर १६ मा चिनियाँ कम्पनी झोन्डिङ इन्टरनेसनल कम्पनी लिमिटेडसँग ६३ करोड ७३ हजार ४५६ रूपैयाँमा सम्झौता भएको थियो । आयोजना प्रमुख जैसवालका अनुसार १२औँ पटकसम्म म्याद थप गर्दा पनि सवस्टेसन निर्माण हुन सकेको छैन । अन्तिमपटक दिइएको म्याद पनि सन् २०१८ अप्रिल १५ मा सकिएको आयोजनाले जनाएको छ । 
सवस्टेसन बनेपछि मस्र्याङ्दी जलविद्युत्बाट आएको लाइनलाई आँपटारीको १३२ केभी सवस्टेसनबाट ११ केभीका ११ वटा फिडरमार्फत विद्युत् वितरण गरिने आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेपछि यो सवस्टेसन भरतपुर वितरण केन्द्रलाई हस्तान्तरण गरिनेछ ।
७२ किमी हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माणका लागि जिम्मा पाएको आइकम टेली इन्डियाले नवौँ पटकसम्म म्याद थप गर्दा पनि निर्माण नसकेकाले ठेक्का रद्द गर्ने तयारी रहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख जैसवालले रद्द गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरणले निर्णय गरिनसकेको बताउनुभयो । 
९ वर्षमा यसको प्रगति जम्मा ६४ प्रतिशतमात्रै रहेको छ । सन् २००९ मार्च ९ तारिखमा आइकम टेली इन्डियासँग १ अर्ब ६८ करोड ७६ लाख ५९ हजार ५४० रूपैयाँमा सम्झौता भएको आयोजनाका इन्जिनियर कमलराज चुकेले जानकारी दिनुभयो । निर्माण कम्पनीसँग दुई वर्र्षिभत्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । यसले २१८ वटा टावरमध्ये १६५ वटा टावर राखिसकेको छ ।
७३.५ किमी भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माणका लागि चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सिजिपिजी) सँग सन् २०१० नोभेम्बर ९ मा सम्झौता भएको हो । एक अर्ब ४९ करोड २२ लाख २७ हजार ४१७ रूपैयाँमा ठेक्का पाएको सिजिपिजीले पाँचौैँ पटकसम्म म्याद थप गर्दा पनि निर्माण सम्पन्न नगरेपछि ठेक्का रद्द गरिएको आयोजनाका प्रमुख जैसवालले बताउनुभयो ।
यस प्रसारण लाइन दुई वर्षभित्र निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । समयमा निर्माण सम्पन्न नगरेको कम्पनीले योजनाको लागत बढाउन माग गरेपछि सन् २०१७ जुन ५ तारिखमा ठेक्का रद्द गरिएको आयोजनाले जनाएको छ । १८ महिनाभित्र बाँकी काम सम्पन्न गर्न सन् २०१८ अगस्त ६ तारिखमा हेङ्टन अप्टिक कम्पनी लिमिटेडसँग ६३ करोड दुई लाख १८ हजार रूपैयाँमा सम्झौता भएको हो । यसले २४६ वटा टावरमध्ये ८० वटा टावर राखिसकेको छ ।
सवस्टेसन निर्माण भएपछि फिडरहरुमा भएको ओभरलोडको समस्या हट्ने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस