मनकामना माई मन्दिर धनेश्वर शिवालयमा धनधान्याचल

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०७५, १८ : १६
मनकामना माई मन्दिर धनेश्वर शिवालयमा धनधान्याचल

चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका–१७ लगौटामा रहेको मनकामना माई मन्दिर धनेश्वर शिवालयमा शुक्रवारदेखि श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सवशुरु भएको छ । 

महायज्ञमा प्रमुख अतिथी मन्दिरका जग्गादाता राजभक्त खयरगोली रहनु भएको थियो । महायज्ञको उद्घाटन गर्दै नारायणगढ निवासी समाजसेवी खयरगोलीले मन्दिरका लागि जग्गा दान गर्नु पाउँदा खुशी लागेको बताउनु भयो । सो अवसरमा प्रमुख अतिथी खयरगोलीले सामाजीक कार्यले आत्म सन्तुष्टि मिल्ने भन्दै महायज्ञमा सहयोग गर्न सबैमा अपिल पनि गर्नुभयो । महायज्ञको प्रमुख वाचक युवापन्डित दिनवन्धु पोखरेल रहनु भएको छ । 

माघ ११ गते देखि सञ्चालीत सो महायज्ञ माघ १७ गते विशेष कार्यक्रमकाबीच समापन गरिने प्रचार प्रसार समितिका संयोजक गोपाल दराइले जानकारी दिनुभयो । महायज्ञ शुरु हुनु अघि भव्य कलश यात्रा समेत निकालीएको थियो । 
महायज्ञबाट करिव ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । संकलित रकमले मुक्तिक्षेत्रको आकारमा १०८ गौ धारा एवंम १०८ शिवलिंग तयार गरी प्रसिद्धधाम बनाउने महायज्ञको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । वि.सं. २०६९ सालमा नेपालकै प्रसिद्ध धार्मीक स्थल गोरखामा रहेको मनकामना माईको आस्था र शक्तिलाई नजिक पर्ने गरी सोही आकार र शैलीमा यस मन्दिरको निर्माण कार्य सम्पन्न भएको हो । मन्दिरका अध्यक्ष गगन थापाको अध्यक्षतामा भएको सो उद्घाटन समारोहमा धार्मिक तथा सामाजीक व्याक्तित्वहरु सहित श्रद्धालुहरुको बाक्लो उपस्थिती रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस