नेता नेपाल र नारायणकाजीले भने, ‘विधिको शासन नमान्ने डा. केसीलाई कारबाही हुन्छ’

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०७५, १७ : ४०
नेता नेपाल र नारायणकाजीले भने, ‘विधिको शासन नमान्ने डा. केसीलाई कारबाही हुन्छ’

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले सरकारले संबैधानिक विधि अनुसार चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरेर पास गरेको बताउँदै विधिको शासन र संसदीय सर्वोच्चतालाई स्वीकार्न भन्दै कांग्रेसलाई संसद् अवरुद्ध नगर्न आग्रह गर्नु भएको छ ।

शनिबार पोखरामा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा वरिष्ठ नेताद्वयले कांग्रेसले रोजेको आन्दोलनको तुक नरहेको तर्क गर्दै आन्दोलनको बाटो छोडी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । ‘कांग्रेसले आन्दोलनको बाटो रोज्नु हुँदैन’ नेता नेपालले भन्नुभयो, ‘चिकित्सा शिक्षा विधेयक विधि र प्रक्रिया अनुसार संसदमा पेस भएको हो। सोही बमोजिम पास भयो र राष्ट्रिय सभाले पनि सोही बमोजिम नै पास गर्नेछ ।’

काँग्रेसले समृद्धिको यात्रा तय गर्न र विकास निर्माणमा सरकारलाई सहयोग गर्न जुटेर लाग्नुपर्ने बेलामा आन्दोलन गर्ने कांग्रेसको सोच नै गलत भएको भन्दै उहाँले कांग्रेसलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गर्नुभयो । नेकपाले कांग्रेसलाई पन्छाउने गरेर कुनै काम नगरेको उहाँको भनाइ थियो। नेता नेपालले डा. गोविन्द केसीले विधिको शासन पालना नगरेको आरोप लगाउनु भयो । डा. गोविन्द केसीलाई विधिको शासनलाई स्थापित गर्न सहयोग गर्न आग्रह गर्दै उहाँले नसच्चिए डा. केसीलाई समेत कारबाही हुने बताउनु भयो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि डा. केसीको माग बमोजिम नै चिकित्सा शिक्षा ऐन आएको भन्दै विधिको शासन पालना गर्न आग्रह गर्नुभयो। ‘सम्झौता अनुसारको कुरा नआएको होला तर, मर्म र भावना सबै समेटिएको छ। डा. केसीका अधिकांश माग पूरा भएका छन् । शतप्रतिशत हुने नहुने कुरा त संसदको पनि आफ्नै सार्वभौम अधिकारको कुरा हो ।’ संसदको अधिकारको कुरा बाहिरबाट डा. केसी, काँग्रेस वा अरू कसैले भन्दैमा नहुने समेत उहाँले प्रष्ट पार्नुभयो ।

नेता श्रेष्ठले कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विषयमा अनावश्यक बखेडा झिकेर  संसद अवरुद्ध गर्नु वा आन्दोलनको धम्की दिनु शोभनीय नहुने बताउनु भयो । नेता श्रेष्ठले काँग्रेसलाई जिम्मेवार भई सरकारको गुण र दोषको आधारमा आफ्ना रचनात्मक गतिविधिहरू अगाडि बढाउन सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस