काठमाडौंको होटलमा गोली चल्यो, प्रहरीको गोली लागेर एक हतियार कारोबारी घाइते

सफल खबर संवाददाता

मंगलबार, ०८ माघ २०७५, १८ : ४८
काठमाडौंको होटलमा गोली चल्यो, प्रहरीको गोली लागेर एक हतियार कारोबारी घाइते

काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौँको टोलीले गोंगबुमा गोली चलाएर एक जना हतियार कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका अविलास तामाङ छन् । तामाङको बाँया खुट्टाको घुँडा मुनी प्रहरीले चलाएको गोली लागेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीमाथि तामाङले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको थियो । गोगंबुस्थित मित्रनगरको होटल लक प्रा.लि.को रुममा बसेका तामाङको रुम खोल्ना साथ प्रहरीमाथि आक्रमण भएपछि रुममै गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
तामाङको साथबाट ६ राउण्ड गोलीसहित एक थान पेस्तोल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

तामाङ तत्कालीन माओवादी लडाकु भएको प्रहरीले जनाएको छ । उनी पछिल्लो समय गुण्डागर्दी र  हतियार कारोबारीमा संलग्न भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस