नयाँ शक्ति पार्टी, नेपालले एक महिने लम्बे अभियान सञ्चालन गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०८ माघ २०७५, १५ : ३७
नयाँ शक्ति पार्टी, नेपालले एक महिने लम्बे अभियान सञ्चालन गर्ने

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले असल राजनीतिका लागि एक महिने लम्बे अभियान सञ्चालन गर्ने भएको छ । अभियानमा संयोजक भट्टराईले पनि मध्यपहाडी/पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नुहुनेछ ।

'असल राजनीति र समावेसी विकासका लागि जनसंवाद'को नारासहित नयाँ शक्तिले पुष्पलाल लोकमार्गमा अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा एक महिनाभरी नै पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी हुनुहुनेछ । 'नयाँ शक्तिको लुम्बिनी बैठकको वैचारिक कोषेढुंगापछि यसलाई सांगठनिक कोषेढुंगा बनाउँदैछौं', अभियानको उद्देश्यबारे चर्चा गर्दै संयोजक डा. भट्टराईले बताउनुभयो ।

पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म १७७६ किलोमिटरको पुष्पलाल लोकमार्ग आसपास सञ्चालन हुने अभियानका क्रममा स्थानीय तहका समस्या र सम्भावनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरुसँग अन्तरक्रिया/छलफल गरिने उहाँले स्पष्ट पार्नुभयो ।

'केन्द्रदेखि स्थानीय तहसम्म राजनीति भ्रष्टाचारको दुष्चक्रममा रुमल्लिएको छ', संयोजक भट्टराई भन्नुहुन्छ – 'भ्रष्टाचारको जालो नतोडेसम्म र अहिलेको संरचनात्मक अवरोध अर्थात् राजनीतिक सिन्डिकेट नतोडी मुलुकलाई समृद्धिको दिशामा तीव्र ढंगले अगाडि बढाउन सकिन्न ।'उहाँले स्थानीय तहदेखि नै असल राजनीतिकालागि एउटा जागरणको आवश्यकता देखिएकोले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

गाउँ-शहरमा घुम्दा स्थानीय जनप्रतिनिधिहरु टुहुराटुहुरीजस्तै अविभावकविहिनजस्तै पाएको उहाँको अनुभूति छ । 'संघीयताको सशक्त कार्यान्वयन गर्दै समावेशी विकासलाई प्रवर्द्धन गर्न सत्ता सञ्चालकहरु उदासीन छन्', उहाँ भन्नुहुन्छ – 'संघीयतालाई पञ्चायतकालीन विकेन्द्रीकरणको तहमा खुम्च्याएर सिंहदरबारको निगाहमा चलाउन खोज्ने दुस्साहसविरुद्ध हामी स्थानीय जनप्रतिनिधिसँग संवाद गर्नेछौं र संघीयताको मर्मको बारेमा स्पष्ट पार्नेछौं ।' संघीयतालाई शासकको दया र निगाहभन्दा स्थानीय तहको अधिकारको रुपमा स्थापित गर्न ढिला भइसकेको उहाँको बुझाई छ ।

आफूले हालसालै युरोप र अमेरिकाको भ्रमण गरेर विज्ञान, दर्शन, अर्थतन्त्र र राजनीतिक क्षेत्रमा आएका परिवर्तनबारे अध्ययन गरेको भन्दै संयोजक भट्टराईले एकपटक दूरदराजका नागरिकसँग प्रत्यक्ष संवाद गर्न चाहेकोले एक महिनासम्म निरन्तर सञ्चालन गरिने अभियानमा आफू प्रत्यक्ष सहभागी हुन लागेको स्पष्ट पार्नुभयो ।

अभियानको क्रममा विकास र समृद्धिको मार्गचित्रबारे स्पष्टता हासिल गर्ने, स्थानीय जनताको समस्या र बुझाइबारे जानकारी हासिल गर्ने, समृद्धिको सपनालाई विपनामा रुपान्तरण गर्न असल राजनीतिक अभ्यासलाई अगाडि बढाउन भूमिका खेल्ने लगायतका उद्देश्य राखिएको संयोजक भट्टराईले बताउनुभयो ।

अभियानको पूर्वतयारीको रुपमा पार्टीका हेडक्वार्टर सदस्यहरु गंगा श्रेष्ठ, प्रशान्त सिंह र युवा शक्ति नेपालका उपाध्यक्ष भीम पराजुलीले अभियान सञ्चालित हुने मार्गको अध्ययन, अनुसन्धान गरेर काठमाडौं फर्किसक्नुभएको छ ।

अभियानको क्रममा पुष्पलाल लोकमार्ग आसपास अन्तरक्रिया, कोणसभा, पैदलयात्रा आदिका माध्यमबाट जनसंवाद गरिने योजना रहेको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो । 'विकृति, विसंगतिविरुद्ध व्यापक जनसहभागिता हुनेगरी अभियान सञ्चालन हुनेछ', पाण्डे भन्नुहुन्छ – 'यो अभियान समावेशी समृद्धि र सुशासनका पक्षमा एउटा जागरण अभियानको रुपमा अगाडि बढ्नेछ ।'

प्रतिक्रिया दिनुहोस