बैंकिङ क्षेत्रको एउटा आइकन पृथ्वीबहादुर पाण्डे

सफल खबर संवाददाता

मंगलबार, ०८ माघ २०७५, १३ : १८
बैंकिङ क्षेत्रको एउटा आइकन पृथ्वीबहादुर पाण्डे

काठमाडौँ । पृथ्वीबहादुर पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् । चार्टड एकाउन्टेन्सी सकेका उनको अगाडि दुई विकल्प थिए, नेपाल राष्ट्र बैंकको जागिर कि अर्थ मन्त्रालयको । केहि गर्छु भन्ने महत्वकांक्षा बोकेर उनी गए नेपाल राष्ट्र बैंक । त्यहाँ सिकेका कुराहरु उनको जीवनका लागि अर्थपूर्ण रहे ।

जीवन चल्दै थियो । वासिङटनमा रहँदा उनको मनले सोच्यो, ‘बैंकिङमा किन नजाने ?’ नेपाल फर्किएर उनले नयाँ बैंक खोल्ने प्रकृया सुरु गरे । त्योबेला सबै कुरामा दरबारबाट स्वीकृति लिनुपर्थ्यो । जीवनमा सोचेका सबै कुरा सोचेकै जसरी कहाँ पूरा हुँदो रहेछ र ? त्यतिबेला राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व गर्ने अफर आयो उनलाई । ज्यान कलिलै थियो । तर राष्ट्र बैंक, र आइएमएफमा काम गरेको अनुभवले उनीप्रतिको विश्वासले उचाईं लिंदै थियो ।

देशमा सुरु भएको जनआन्दोलन सकिएपछि दरबारमा कुनै बेला रोकिएको लाइसेन्सको प्रक्रिया अगाडी बढ्यो र सुरु भयो हिमालयन बैंक । १० बर्षपछि अवसरको अर्को पाटोले नेपाल इन्भेष्टमेन्ट बैंक जन्मायो । जीवनमा केहि गर्न खोज्नेहरुका लागि समयले सधैं अवसरका गुच्छाहरु दिने रहेछ । १० बर्ष नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरेपछि उनको मनले फेरि सोच्यो, ‘यो देशका लागि गर्न सकिने अरु धेरै कुराहरु छन् । धेरै तरिकाहरु छन् ।’

‘त्यसपछि गर्ने सकिने धेरै क्षेत्रहरुमा काम गरियो, गरिँदैछ’ उनी भन्छन्, ‘जीवनका यिनै अनुभवहरुले नयाँ नयाँ अनुभूति दिईरहेका छन् । पहिला योग्यता, दोश्रो अनुभव र सम्बन्धहरु अनि जीवनमा लिनुपर्ने जोखिम सफलताको अर्को अध्याय रहेछ । सफल बनाउने शर्तहरु यिनै रहेछन् । कसैले आफ्नै काम सुरु गर्दैछु भन्दा मन खुसी हुन्छ ।’

सफलताको सूत्र बताउँदै उनी भन्छन्, ‘मैले हिमालयन बैंक खोल्दा म संग पनि पैसा कहाँ थियो र ? इक्षाशक्तिका अगाडि सबै फिक्का हुने रहेछन् । भन्नेले त बैंक खोल्छु भन्दा मलाइ पागल समेत भने । हातमा पूँजी नभएर के भो ? मनमा दरिलो इक्षाशक्ति थियो । जोखिम उठाउने आँट थियो । जीवनमा कुनै कुराको पछुतो छैन । हरेक समयले जीवनलाई सिकायो, अनुभव दिलायो । नेटवर्क बनायो । त्यसैले जीवनमा सधैं पैसामात्र हेरेर हुँदैन ।’

प्रतिक्रिया दिनुहोस