प्रचण्ड परिवार भाइरल ज्वरोको प्रकोपबाट प्रभावित

सफल खबर संवाददाता

मंगलबार, ०८ माघ २०७५, १२ : ३५
प्रचण्ड परिवार भाइरल ज्वरोको प्रकोपबाट प्रभावित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएको छ । 

केही दिन अघिबाट भाइरल ज्वरोका कारण प्रचण्ड नातिनि स्मिता दाहाल, दुई नातिहरु प्रसिद्ध दाहाल र प्रणव दाहाललाई ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । 

तर, उनीहरुको सामान्य उपचारपछि सोमबार साँझ अस्पतालले डिस्चार्ज गरेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले बताइन् । 

उनीहरु डिस्चार्ज भएपनि अहिले अध्यक्ष प्रचण्ड पनि भाइरल ज्वरोबाट प्रभावित भएका छन् । प्रचण्डलाई सामान्य ज्वरो र रुघाखोकीका कारण उनले घरमै आराम गरिरहेको स्वकिय सचिव दाहालले बताइन् । ‘बुबालाई पनि सामान्य ज्वरो, रुघाखोकीका कारण घरमै आराम गरिरहनु भएको छ,’ उनले भने ।

डाक्टरहरुले प्रचण्डलाई केही दिन आराम गर्न र भेटघाट बन्द गर्न सुझाव दिएका छन् । त्यस्तै प्रचण्ड बुहारी समेत रहेकी खानेपानी तथा सररफाई मन्त्री विना मगर पनि भाइरल ज्वरोबाट प्रभावित भएपछि अस्पताल भर्ना भएकी छन् । उनको पनि सुमेरु अस्पतालमै उपचार भैरहेको दाहालले बताइन् । अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाहालले बताइन् ।  

अस्पताल स्रोतका अनुसार बिनालाई हिजो बेलुका भर्ना गरिएको हो । उनलाई क्याबिनमा राखेर डाक्टरको विशेष निगरानीमा उपचार भइरहेको छ ।

उनी आजै डिस्चार्ज हुने सम्भावना रहेको छ । केही दिन अघि प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना भएकि थिइन् । उनको अहिलेपनि उपचार भैरहेको छ । दाहालको उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनलाई अझै केहि दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुको बताएका छन् । भाइरल ज्वरोका कारण प्रचण्डका एक सहयोगी पनि बिरामी भएका छन् ।

प्रतिक्रिया दिनुहोस