तातो तेलले डढेकी बालिकाको निःशुल्क उपचार

सफल खबर संवाददाता

सोमबार, ०७ माघ २०७५, १६ : ४९
तातो तेलले डढेकी बालिकाको निःशुल्क उपचार

चितवन । तातो तेलले डढेकी २२ महिनाकी बालिका सिम्रन पौडेलको उपचार निःशुल्क हुने भएको छ । पौडेलको उपचार भइरहेको चितवन मेडिकल कलेजले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तेलले डढेकी बालिकाको औषधिबाहेक सम्पुर्ण उपचार निःशुल्क गर्ने जनाएको छ । 

माघ १ गतेका दिन नवलपरासी जिल्ला गैडाकोट नगरपालिका डेरा गरी बसोबास गर्दै विगत २ वर्षदेखि ठेलामा म.म. ब्यापार गरिरहेको कृष्ण पौडेल र विष्णु माया पौडेलकी छोरी सिम्रनको शरिर र टाउकोमा तातो तेल पोखिएर घाइते भएकी थिइन् । 

चितवनमा एकमात्र बर्न सेन्टर रहेको चितवन मेडिकल कलेजमा कार्यरत प्लाष्टिक सर्जन डा. बृद्धिनाथ अधिकारीको टिमले आज ७ औं दिनसम्म पनि डाक्टर तथा नर्सको अधिक्तम मेहनत र प्रयासबाट उचित हेरचाहमा उपचार भईरहेको अस्पतालले जनाएको छ । बालिकाको स्वास्थ्य अवस्थामा दिनप्रति दिन सुधार भैरहेको छ । अस्पतालमा हालसम्म औषधिबाहेक ६ हजार रुपैयाँमात्र खर्च भएको अस्पतालले जानकारी दिएको छ । 

तर केही सञ्चार माध्यममा हालसम्म तीन लाख खर्च भई सकेको र उपचारको लागि पैसा अभाव भएको छ भनि समाचार प्रसारण भएको खबर आएको थियो । जुन खबरप्रति अस्पतालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । अस्पतालले विगतमा समेत यस्ता विभिन्न घटनामा परी उपचारका लागि आएका आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क उपचार गर्दै आएको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानले जानकरी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस