प्रधानमन्त्री ओलीसहित १७ सदस्यीय टोली आज स्विजरल्यान्ड जाँदै

सफल खबर संवाददाता

आइतबार, ०६ माघ २०७५, ११ : ३४
प्रधानमन्त्री ओलीसहित १७ सदस्यीय टोली आज स्विजरल्यान्ड जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज राति स्विजरल्यान्ड जाँदैछन् ।  प्रधानमन्त्री ओली १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार (आज) राति ८ः५० बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

स्विजरल्यान्डको डाबोसमा यहि माघ ८ देखि सुरु हुन गइरहेको वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन प्रधानमन्त्री ओली स्विजरल्यान्ड जान लागेका हुन् ।

सो टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १७ सदस्य सहभागी रहने बताइएको छ ।

यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी हुन लागेका हुन् । सम्मेलनमा ओलीले ३ वटा छुट्टा–छुट्टै फोरममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनबाट विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास नेपालको छ । टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस