नेपाली बजारमा निर्वाध चल्छन् भारतीय टेम्पो

सफल खबर संवाददाता

शनिबार, ०५ माघ २०७५, १७ : ४०
नेपाली बजारमा निर्वाध चल्छन् भारतीय टेम्पो

- संजयकुमार सहनी

रौतहट । लाखौं रुपैयाको जोहो गरी नेपाली प्लेटको टेम्पो र ई–रिक्सा किनेका रौतहटका व्यवसायीहरु स्थानीय तह र प्रशासनको साथ नपाउँदा भारतीय टेम्पो व्यवसायीबाट पीडित बनेका छन् । सदरमुकाम गौरमै भन्सार र कर नतिरी गैर कानूनी रुपमा सवारी ओसार्ने भारतीय टेम्पोको बिगबिगी छ ।

यसप्रति कडाई गर्ने सम्बन्धित निकाय चुप लागेर बसेपछि भारतीय सवारी साधनभन्दा अढाई गुणा महङ्गोमा नेपाली नम्बरका टेम्पु तथा इरिक्सा किनेका यातायात व्यवसायीहरु यात्रु अभावमा दैनिक गुजारा गर्नसमेत अप्ठ्यारोमा परेका छन् भने अवैध रुपमा चलेका भारतीय सवारी साधनले यात्रुबाट राम्रो आम्दानी गरिरहेका छन् ।

भन्सार नियम अनुसार एक भारतिय टेम्पुले नेपाल प्रवेशका लागि ३ सय ३९ रुपैयाँ, जीप कारले ४ सय ५२ र मोटरसाइकले १ सय १३ रुपैयाँ प्रतिदिनका दरले भन्सार तिर्नुपर्छ । तर यसबारे सोच्ने निकाय नै सुस्त भएपछि राजस्व चुहावट बढनुका साथै नेपाली टेम्पो व्यवसायीहरु मारमा परेको स्थानीय कमलेस पटेलले बताए । गौर नगरपालिका तथा जिल्ला प्रशासनको १३ असोजमा बसेको बैठकले पुस मसान्तभित्र भारतीय नम्बर प्लेटका टेम्पुहरुलाई नेपालीकरण गर्न निर्देशन गरेपनि त्यसको पालना नभएको भन्दै  नेपाली व्यवसायीले  जोडदार माग उठाउँदै आएका छन् । आजसम्म आफूहरुको मागको सुनुवाई नभएको ई–रिक्सा व्यवसायी संघ रौतहटका अध्यक्ष लालबाबु पटेलले दुखेसो पोखे । भारतीयभन्दा अढाई गुणा महङ्गोमा नेपाली नम्बरका गाडीहरु खरिद गरेर सरकारलाई कर तिर्दासमेत आफूहरुको मागको बारेमा प्रशासनले कुनै चासो नदिएको अध्यक्ष पटेलले बताए ।

नेपालको कुनै पनि सिमाक्षेत्रमा यसरी भारतीय नम्बरका सवारी साधनले यात्रु नओसार्ने गरेको तर रौतहटमा मात्रै यो अवैध धन्दालाई प्रशासनले रोक्न नसकेको अध्यक्ष पटेलको भनाइ छ । दैनिक २० पटक सम्म यात्रु र सामान बोकेर भारतको बैरगनियाबाट गौर ओहर दोहर गर्ने टेम्पुलाई प्रशासनले यो दायरामा ल्याउन सकेको छैन ।

अर्कोतर्फ भन्सार नियमअनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार नकाटेर एक देशबाट अर्को देशमा गुडन पाउदैन । तर, कानून र नियमलाई लत्याउदै एक पैसा पनि भन्सार नतिर्ने तर दैनिक रुपमा नेपालमै गुड्ने हजारौं सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छैन । गैरकानूनी रुपमा यसरी कुदिरहका यी गाडीहरुले दुर्घटना गराउँदा जिम्मेवार को हुने भन्ने प्रश्न टड्कारो बनेको छ ।

लाखौको भन्सार राजश्व छलिसकेका यी गाडीहरुले क्षमताभन्दा बढी यात्रु बोक्दा समेत कारवाही नहुनुले ट्राफिक प्रहरीको भूमिकामा शंका गर्ने प्रशस्त ठाउँ भेटिएको छ । यातायात व्यवस्था ऐन २०४९ बमोजिम विदेशी नम्बरका सवारी साधनले भन्सार राजश्व नतिरेर नेपालमा यात्रु ओर्सान पाउँदैनन तर नियमनकारी निकायले चासो नदिएपछि रौतहटका अधिंकाश क्षेत्रहरुमा गैरकानूनीरुपमा भारतीय सवारी साधनहरु प्रयोग भइरहेका छन् ।

कानूनत नेपालको सिमावर्ती नजिकको बजारसम्म जानु पर्ने भए भारतीय गाडीहरुले भन्सार कार्यालयमा इन्ट्री गराउनु पर्छ । यदि नेपाली क्षेत्रमा भित्री भागसम्म पुग्नु पर्ने हो भने अनिवार्य रुपमा भन्सार राजश्व तिरेर जानु पर्ने कानूनी प्रावधान छ । तर, सबै नियम कानूनलाई लत्याउँदै रौतहटभर निर्वाधरुपमा चलेका भारतीय नम्बर प्लेटका सवारी साधनले दैनिक लाखौंको राजश्व छलिरहेका छन् । एक सुका पनि भन्सार नतिर्ने यस्ता सवारी साधन संचालनको लागी प्रशासनले मौन अनुमति दिएको छ ।  

यसबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको प्रमुख जिल्ला अधिकारी लेखनाथ पौड्यालले बताए । पछिल्लो सम्झौता के भयो त्यसको बारेमा अध्ययन गरिरहेको बताउँदै प्रजिअ पौड्यालले भारतीय पक्षसंग समन्वय गरेर ठोस कदम चाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस