गणेशधाम महायज्ञ : खर्च कटाएर १० करोड २७ लाख बचत

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, १५ : २५
गणेशधाम महायज्ञ : खर्च कटाएर १० करोड २७ लाख बचत

चितवन । गणेशधाम निर्माण गर्न गरिएको धन धान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सवबाट नगद १० करोड ८२ लाख २४ हजार १३० रुपैयाँ संकलन भएको छ । 
गणेशधाम निर्माण गर्न गरिएको महायज्ञको आज हरहिसाब सार्वजनिक कार्यक्रममा महायज्ञ समारोह मूल आयोजक समितिका संयोजक दिनेश चुकेले महायज्ञको सम्पूर्ण खर्च कटाएर १० करोड २७ लाख ४८ हजार ४९४ रुपैयाँ ९९ पैसा बचत भएको बताउनुभयो । 
कार्यक्रममा आर्थिक विभाग प्रमुख सन्तोष पन्तले महायज्ञ सम्पन्न गर्नको लागि ५४ लाख ७५ हजार ६३५ रुपैयाँ खर्च भएको बताउनुभयो । उहाँले अझै ९ करोड ३७ लाख २२ हजार १७९ रुपैयाँ उठ्न बाँकी रहेको बताउनुभयो । 
कार्यक्रममा महासचिव रविन्द बरालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले ५००१ सदस्यीय मूल समारोह समिति २५१ सदस्यीय सम्पादन समिति, सबै मान्यजनहरु रहेका सल्लाहकार समिति, निर्देशक समिति, कार्यकारिणी समिति ५९ वटा उपसिमितिहरु सबैको अथक प्रयास स्वरुप महायज्ञ सफल भएको बताउनुभयो । 

कार्यक्रममा पण्डित दीनबन्धु पोख्रेलले गणेशधामको सद्भावना दूतको रुपमा रहेर प्रचारप्रसारमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा गणेशधामका परिकल्पनाकार तथा प्रदेश ३ का सांसद विजय सुवेदीलाई अभिनन्दन र प्रदेश सांसद पार्वती सिलवाललाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्पूर्ण सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो ।
गणेशधामको निर्माण कार्य आउँदो माघ तेस्रो हप्ताबाट सुरु गरिने मूल आयोजक समितिका संयोजक तथा अध्यक्षसमेत रहेका दिनेशकुमार चुकेले जानकारी दिनुभयो । एक चरणको डीपीआरको काम सुरु भइसकेको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस