सर्वोच्च अदालतको आदेशसँगै दीपक मनाङ्गे थुनामुक्त

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, १५ : १८
सर्वोच्च अदालतको आदेशसँगै दीपक मनाङ्गे थुनामुक्त

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै दीपक मनाङ्गे  थुनामुक्त भएका छन् । प्रदेश सभा सदस्यसमेत रहेका मनाङ्गे (राजीव गुरुङ) ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भइ गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागारले थुनामुक्त गरेको हो । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो । मनाङ्गेलाई तत्कालिन पुनरावेदन अदालत पाटनले पाँच वर्ष थुनामा  राख्न आदेश दिएको थियो ।

दीपक मनाङ्गे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।  ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङ्गे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडिएको थियो । 

ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङ्गेमाथि जिल्ला अदालत काठमाडौंमा यसै मुद्दा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङ्गेलाई २ वर्ष मात्रै कैद सजाय सुनाएको थियो ।  तर जिल्लाको फैसला चित्त नबुझेपछि सरकारले उक्त मुद्दा पुनरावेदन अदालत पाटनमा दायर गरेको थियो । 
पुनरावेदनले जिल्ला अदालतको फैसला केही उल्टी गर्दै ज्यान मार्ने उद्योग अन्तर्गत मनाङ्गेलाई ५ वर्षको जेल सजाय तोकेको थियो ।  पुनरावेदनको फैसलाविरुद्ध मनाङ्गे भने सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले गत माघमा पुनरावेदनकै फैसला सदर गर्दै मनाङ्गेलाई ५ वर्षको जेल सजाय हुने ठहर गरेको थियो ।  त्यसपछि मनाङ्गे डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए । 

१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने नयाँ मुलुकी ऐनको सुविधा अनुसार दिपक गुरूङ (मनाङे) छुटेका हुन् । सर्वोच्चमा उनको पुनरावेदन रिट दर्ता भएसँगै मनाङे छुटेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस