चितवनका नदी, खोला र घोल तटबन्ध, ४३ करोडको लागत रहने

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०७५, १० : ५७
चितवनका नदी, खोला र घोल तटबन्ध, ४३ करोडको लागत रहने

चितवन : चितवनमा ४३ करोडको लागतमा तटबन्ध हुने भएको छ । चितवनका नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्ध गर्न लागिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाले ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने जनाएको छ । 
आयोजनाका प्रमुख मोहनकुमार शाक्यले नारायणी नदीको चितवनतर्फ  १२ करोड, सुस्तासहित नवलपरासीतर्फ आठ करोड, कयर खोलामा १५ करोड राप्ती र केरुङ्गा चार÷चार करोडको लागतमा तटबन्ध गर्न लागिएको हो । 
चितवनतर्फ गाँजापुरको चौकीडाँडा, हिरापुर, न्यूरेचोक र मझुवा सामुदायिक वन पछाडि तटबन्ध निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको शाक्यको भनाइ छ । नवलपरासीतर्फ गैँडाकोट, रजहर, मध्यविन्दु र अमलटारीमा पनि तटबन्ध निर्माण गरिने उनले बताए । 
नारायणी नदीबाट चितवन र नवलपरासी क्षेत्रलाई जोगाउन पुरै नदी तटबन्ध निर्माण गर्दा रु १० अर्ब ८१ करोड लाग्ने अनुमान गरिएको छ । ‘यो थोरै बजेटले आवश्यक ठाउँमा मात्र तटबन्ध गर्न सकिन्छ, जे होस् तटबन्धको काम अघि बढ्यो’ आयोजनाका प्रमुख मोहनकुमार शाक्यले भने ।
आर्थिक वर्ष २०६६÷६७ मा जनताको तटबन्धन नामबाट काम गर्दै आएको उक्त कार्यालय हाल जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा गाभिएको छ ।  कार्यालय स्थापना भएदेखि नै नारायणी नदीमा तटबन्धन बनाउन थालिएको थियो । हालसम्म नारायणी नदीमा तटबन्धनका लागि एक अर्ब ३० करोड खर्च भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस