केही मिडियाले मिसन नै बनाएर सरकारलाई खेद्नका लागि गलत समाचार सम्प्रेषण गरेको सञ्चारमन्त्री वास्कोटाको आरोप

सफल खबर संवाददाता

विहीबार, २० मंसिर २०७५, १९ : ०७
केही मिडियाले मिसन नै बनाएर सरकारलाई खेद्नका लागि गलत समाचार सम्प्रेषण गरेको सञ्चारमन्त्री वास्कोटाको आरोप

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले केही मिडियाले मिसन नै बनाएर सरकारलाई खेद्नका लागि तथ्यहरु तोडमोड गरि समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् । 

विहीबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले ‘एसिया प्यासिफिक समिट’मा सहभागिताको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यामले सरकारलाई आपेक्ष गराउने गरी तथ्यलाई तोडमोड गरेर समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै त्यसो नगर्न  सचेत गराएका हुन् ।

उनले सो समिट पटक–पटक भएपनि सञ्चार माध्यामले यो पटक मात्रै भए जसरी समाचार सम्प्रेषण गरेको आरोप  लगाए । एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताको बचाऊ गर्दै मन्त्री बास्कोटाले भने-‘ हिजो कुनै पार्टीका नेता वा प्रधानमन्त्री सहभागी हुँदा त्यही सम्मेलन पवित्र हुने, त्यही अवार्ड थाप्दा गिरिजाप्रसाद शान्तिदूत हुने, अनि आज त्यही अवार्ड केपी ओलीले थाप्दा अपवित्र हुने ? केपी ओली अपराधी हुने ? हाम्रा मिडियाले स्थापना गर्न खोजेको भाष्य यही हो ?’ गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरु सहभागी हुँदै आएको समिटमा वर्तमान सरकारमात्रै सहभागी भएजसरी भ्रमपूर्ण समाचार आएको मन्त्री बास्कोटाको दावी छ । 

करीव तीन दशक सक्रिय पत्रकारिता गरेका र पत्रकार महासंघको केन्द्रीय नेतृत्वमा समेत रहिसकेका मन्त्री बास्कोटाले आमसञ्चार क्षेत्र पनि जनताप्रति जवाफदेही हुनुपर्ने दोहोर्‍याए । आफूले बोल्दै नबोलेको कुरा केही मिडियाले अतिरञ्जित गरेको भन्दै यसो गर्दा तत्काल अरुलाई पीडा दिएर आनन्द आए पनि भविश्यमा विश्वसनीयता खस्किने उनले बताए ।

मन्त्री बास्कोटाले मन्त्रिपरिषद बैठकको निर्णयबारे आफूसँग जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । 
मन्त्री बास्कोटाले सरकारले सूचना नलुकाएको दावी पनि गरे । उनले समाचारलाई तोडमोड गर्ने काम भएपछि सरकारले त्यसो हुन नदिन व्यवस्थित ढंगले मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन छुट्टै पत्रकार सम्मेलन गर्नु परेको पनि स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस