महायज्ञ सुरु नहुँदै गणेशधाममा सहयोग, प्राइम र महालक्ष्मी बैँकले गरे एक लाख ९० हजार सहयोग

सफल खबर संवाददाता

बुधबार, १९ मंसिर २०७५, १८ : ११
महायज्ञ सुरु नहुँदै गणेशधाममा सहयोग, प्राइम र महालक्ष्मी बैँकले गरे एक लाख ९० हजार सहयोग

चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको गणेशस्थानलाई गणेशधाम बनाउने उद्देश्यले यही मंसिर २२ गतेबाट सञ्चालन गर्न लागिएको महायज्ञ सुरु नहुँदै सहयोगीहरु बढेका छन् ।

प्राइम कमर्सियल बैँक भरतपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गणेशधाम निर्माणको लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैँकका शाखा प्रमुख पदमराज पौडेलले धनधान्याचल महायज्ञ मूल समारोह समितिका अध्यक्ष दिनेश चुकेलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, आज नै महालक्ष्मी विकास बैँक नारायणगढ शाखाले गणेशधाममा खानेपानी ट्यांकी निर्माणका लागि ४० हजार रुपैयाँ सहयोग गरेको छ । बैँकका शाखा प्रवन्धक वीरेन्द्रकुमार चौधरीले मूल समारोह समितिका अध्यक्ष चुकेलाई सो रकम हस्तान्तरण गरे । यसैगरी महायज्ञ समारोह सञ्चालन र प्रचारप्रसारका लागि कालिका व्याग उद्योगका प्रोपाइटर उमेश पियाले करिब २० हजारको झण्डा र झोला सहयोग गरेका छन् । यसरी दिनप्रतिदिन गणेशधाम निर्माणका लागि सहयोगीहरुको संख्या बढ्दै गएको अध्यक्ष चुकेले बताए । चितवनको मुग्लिनदेखि लोथर, पश्चिममा मेघौलीसम्म र छिमेकी जिल्ला नवलपुर, तनहुँ, गोरखा, लमजुङ, मकवानपुरदेखि आम मानिसहरुले सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस