चितवन । घरेलु फोहोर मैला व्यवस्थापनमा भरतपुर महानगरपालिका जुटिरहेको छ । घरमा निस्कने फोहरलाई पुनः कसरी प्रशोधन गर्ने, पुनः प्रयोग गर्न नसकिने फोहोरलाई के गर्ने ? फोहोरलाई प्रशोधन कसरी गर्ने, फोहरलाई कसरी सुरक्षित तरिकाले निष्कासन गर्नेलगायतका विषयमा टोलका प्रतिनिधिहरुलाई आज अभिमुखीकरण गराइएको छ ।
भरतपुर महानगरपालिका, फोहोर मैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्र, ग्रीन नेपाल सिटी वेष्ट म्यानेजमेन्टले संयुक्त रुपमा भरतपुर महानगरका विभिन्न वडाका टोल सुधार समितिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गराइएको हो ।
अभिमुखीकरण कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले घरबाट निस्कने फोहरलाई कम गर्ने र यसलाई मोहरको रुपमा परिणत गर्न सक्नुपर्ने बताइन् ।
ग्रीन नेपाल सिटी वेष्ट म्यानेजमेन्टका अध्यक्ष श्यामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तीन जनाले घरेलु फोहोर व्यवस्थापनमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुतिकर्ता निर्मल सिग्देलले ‘समुदायस्तरमा फोहोरमैला व्यवस्थापन र हाम्रो जिम्मेवारी’ विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै फोहोरको नीति नियमबारे विश्वमणि ज्ञवाली र महानगरपालिकाले गरेको फोहोर व्यवस्थापनबारे भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाअन्तर्गत वडा नं १ देखि ४ सम्मका ८० भन्दा बढी टोलसुधार समितिका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठ, २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०७५, १६ : ५४
लेखकबाट थप