प्रहरीले फर्काइदियो प्रधानमन्त्री ओलीविरुद्धको जाहेरी

सफल खबर संवाददाता

मंगलबार, १८ मंसिर २०७५, १७ : ०६
प्रहरीले फर्काइदियो प्रधानमन्त्री ओलीविरुद्धको जाहेरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सिंगो सरकारविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा मंगलबार एक जना वकिलले दर्ता गर्न खोजेको जाहेरी प्रहरीले दर्ता नगरी ती वकिललाई फिर्ता पठाएको छ ।

हेटौंडा उपमहानगरपालिका ७ घर भई हाल काठमाडौं महानगरपालिका ११ हनुमानस्थानमा ल फर्म संचालन गर्दै आएका अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेल धर्म परिवर्तनको उद्योग गरेको आरोपमा प्रधानमन्त्री ओली र युनिभर्सल पिस फेडरेसनको नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालविरुद्ध जाहेरी दिन प्रहरी कार्यालय पुगेका थिए । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले जाहेरी लिन अस्वीकार गरी अधिवक्ता पोखरेललाई फिर्ता पठाइदिएका हुन् ।

लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म होटल हायालमा क्रिष्चिय सम्मेलन गरेर जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्ने तरिकाले नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई सम्मेलनमा बोलाएर सच्चा माता भनिने मुनबाट आर्शिवाद समेत लिने काम भएको अधिवक्ता पोखरेलको जाहेरीमा उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस