एकदुुई आलु कुहिएका छन्, त्यसलाई फालौँ

सफल खबर संवाददाता

सोमबार, १७ मंसिर २०७५, १५ : १४
एकदुुई आलु कुहिएका छन्, त्यसलाई फालौँ

चितवन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार संगठनभित्र एकदुई आलु कुहिएर बसेका हुनाले त्यस्ता आलुलाई फाल्नुपर्ने बताउनुभएको छ । 
पत्रकार महासंघ चितवन शाखाको आज भएको साधारण सभाको उद्घाटन कार्यक्रममा अध्यक्ष आचार्यले संगठनभित्र एकदुई जना पत्रकार खराब भए भन्दैमा पूरा संगठनलाई बदनाम गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकदुई आलु कुहिएका छन्, त्यसलाई शुद्धीकरणमार्फत फाल्नुपर्छ । यसमा चितवन शाखा अघि बढ्छ भने केन्द्र तयार छ । जिल्लाले सिफारिस गर्दा त्यहीअनुसार सिफारिस गरौँ ।’
उद्घाटन कार्यक्रममा अध्यक्ष आचार्यले पे्रस स्वतन्त्रताको मुद्दामा दायाँबायाँ हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिडिया सार्वजनिक सेवाको क्षेत्र हो, यसले जनताको बोली बोल्नेगर्छ । आवाजविहीनहरुको आवाज बोल्न, जनताको आवाज बोल्न कहीँकतै चुक्नुहुँदैन ।’
अध्यक्ष आचार्यले मिडियाले जनताको विश्वास गुमाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सही सत्य समाचार दिनुपर्छ, फेक पत्रकारिता गर्नुहुँदैन, जनताको विश्वास जित्न सक्नुपर्छ ।’
श्रमजीवी पत्रकारको शोषण हुने, श्रमजीवी पत्रकार ऐनअनुसार न्यूनतम पारिश्रमिक नपाउने त्यस्ता मिडिया हाउस चलाउनेहरुका सदस्यता खारेज गर्न पनि केन्द्र तयार रहेको उहाँको भनाइ थियो । 

कार्यक्रममा संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भनेर लेख्ने, तर व्यवहारमा कानुन बनाएर हामी मिडियालाई ठीक पार्छौ भन्ने सरकार र सरकारका संयन्त्रहरुलाई उहाँले चुनौती दिँदै भन्नुभयो, ‘यसका विरुद्ध हामी आन्दोलनमा जाने तयारी गरिरहेका छौँ, यस्ता कुरा सच्चिएन भने आन्दोलनको विकल्प छैन ।’ उहाँले सबै स्थानीय सरकारहरुलाई प्रेस स्वतन्त्रतामैत्री कानुन बनाउन आग्रह गर्नुभएको छ । 
उहाँले ठूला मिडिया हाउसले नै श्रमजीवी पत्रकार ऐन लागू नगरेको हुनाले अबको आन्दोलन ठूला मिडिया हाउसबाट सुरु हुने उहाँको भनाइ थियो । उहाँले पत्रकारहरुको शुद्धीकरण गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘पत्रकारिता नगरेकालाई सदस्यता नदिऔँ, पत्रकारिता छोडेकालाई पनि सदस्यताबाट हटाऔँ ।’
मन्त्रिपरिषदबाट निर्णय भएका सूचना समयमै नदिँदा सरकारलाई नै घाटा भएको उहाँको तर्क थियो । उहाँले सरकारलाई विद्युतीय कारोवार ऐन खारेज गर्न पनि आग्रह गर्नुभएको छ । 
कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले स्थानीय मिडिया हाउसलाई भरतपुर महानगरपालिकाले प्रवद्र्धन गरिरहेको बताउनुभयो । पत्रकार महासंघ चितवन शाखाले भरतपुर महानगरमा मिडिया एकेडेमी बनाउनुपर्छ 
भनेर उठाइरहेको विषयलाई समर्थन गर्दै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुरमा मिडिया एकेडेमी बनाउनुपर्छ भनेर हामीले नीति तथा कार्यक्रममा समावेश गरेका छौँ ।’
महानगर प्रमुख दाहालले केही अनलाइन मिडियाबाट फेक न्यूजहरु आइरहेको हुनाले यस्ता फेक न्यूज प्रशारण हुनबाट रोक्नलाई पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताउनुभयो । महानगर प्रमुख दाहालले भन्नुभयो, ‘पत्रकारहरुको कलम अब विकास र समृद्धिमा चल्नुपर्छ, सकारात्मक कुरामा चल्नुपर्छ । खबरदारीमा चल्नुपर्छ ।’


कार्यक्रममा नेकपा नेता यमबहादुर परियारले मिडियाहरुले विश्वसनीयतालाई जोगाइराख्नुपर्ने बताउनुभयो । कार्यक्रममा अर्का नेकपाका नेता तेजेन्द्र खड्काले चितवनको पत्रकारिताले अझ फड्को मार्दै जानुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले पत्रकारहरुको सरकारको कमीकमजोरीप्रति कलम चलाएर सजग बनाउनुपर्ने बताउनुभयो । 
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल बार एशोसिएसनका चितवन अध्यक्ष कमलराज पाठक, पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, सुरेशचन्द्र अधिकारी, कृष्ण गिरीलगायतले प्रेस स्वतन्त्रताको पक्षमा मन्तव्य दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस