रक्षामन्त्रीसँगै विदेश पठाइदिन्छु भन्दै डेढ करोड उठाएर फरार रहेकी युवती पक्राउ

सफल खबर संवाददाता

सोमबार, १७ मंसिर २०७५, १३ : ३९
रक्षामन्त्रीसँगै विदेश पठाइदिन्छु भन्दै डेढ करोड उठाएर फरार रहेकी युवती पक्राउ

काठमाडौं  । तत्कालिन रक्षामन्त्री भिमसेनदास प्रधानसँगै विदेश पठाउने भनेर ठगी गर्ने युवती पक्राउ परेकी छिन् । संगिता अधिकारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनी फूटबल खेलाडी निराजन रायमाझीकी श्रीमती हुन् । 

प्रधान रक्षामन्त्री भएको बेला उनको टिममा राखेर क्यानाडा पठाउने भन्दै संगिताले ठगी गरेका हुन् । उनले पैसा उठाएको बारे प्रधानलाई पनि थाहा थियो । तर, मन्त्री प्रधान जाने कार्यक्रम नै रद्द भएपछि समस्या भएको थियो । जसकारण यो ठगी प्रकरणमा प्रधान पनि अनुसन्धानमा तानिने सम्भावना छ । 
 
‘वैदेशिक रोजगारमा पठाइदिने भन्दै युवासँग करोड रुपैयाँ असुल गरेको अभियोगमा संगीता अधिकारी पक्राउ परेकी हुन्, उनीविरुद्ध १२ जना युवाले जाहेरी दिएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने । 

 
प्रहरीका अनुसार उनले प्रतियुवा आठदेखि २६ लाख रुपैयाँका दरले रकम संकलन गरेकी थिइन् । सबै गरी अहिलेसम्म एक करोड ३८ लाख रुपैयाँबराबरको ठगी भएको भन्दै उजुरी परेको प्रहरीको भनाइ छ । उनी ६ महिनादेखि बेपत्ता थिइन् । ‘झन्डै डेढ करोड रुपैयाँ ठगी भएको भन्दै जाहेरी परेको छ । आकर्षक रोजगारीमा पठाइदिने भन्दै रकम संकलन गर्ने गरेको पीडितको भनाइबाट खुलेको छ । उनलाई हामीले ६ महिनाअघिदेखि खोजिरहेका थियौँ,’ महाशाखाका एसएसपी सिंहले भने ।  
कबोल गरेअनुसार क्यानडा पठाउन नसकेपछि संगीताले पैसा लिएका युवकहरूलाई विभिन्न बैंकको चेक काटेकी थिइन् । तर, उनले काटेका सबै चेक बाउन्स भएको प्रहरीले जनाएको छ । संगीताले काटेको चेक बाउन्स भएपछि मात्रै पीडितहरू कानुनी उपचारका लागि उजुरी दिन प्रहरी कार्यालय पुगेका थिए । प्रहरीका अनुसार उनले भक्तपुरका जयराम सुकुभुटुसँग २० लाख, रामकृष्ण सुवालसँग १९ लाख ९० हजार, दोलखाका सुदिन खड्कासँग २६ लाख २० लाख, काभ्रेका धीरेन्द्रकुमार पुलामीसँग २२ लाख ५० हजार र नवीन तामाङसँग २३ लाख २५ हजार रुपैयाँ लिएकी थिइन् । 
त्यसरी उठाएकोमध्ये केही पैसा उनले तत्कालिन मन्त्री प्रधानका सहयोगीलाई समेत बुझाएको अनुसन्धानमा खुलेको छ । मन्त्रीका सहयोगीले समेत केही पैसा लिइसकेको अधिकारीले बताएकी छिन् । 
 

प्रतिक्रिया दिनुहोस