गणेशधाम निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०७५, १७ : १५
गणेशधाम निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने

चितवन । भरतपुर महानगरपालिका–११ मा गणेशधाम निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशस्थान क्षेत्रको स्थलगत निरीक्षण पश्चात गणेशधाम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले गणेशधाम प्रदेश नम्बर ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भन्दै तीब्रताका साथ काम गर्न निर्देशन दिए । ‘विकास निर्माणका लागि यहाँका स्थानीयहरु आफै जागरुक हुनुपर्छ’,मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेशका हरेक जिल्लामा यस्तै एउटा  महत्वपूर्ण काम गर्नुपर्छ ।’

गणेश धाम आगामी पुस्ताले सम्झन लायक कामका रुपमा स्थापित हुने उनले बताए । ‘फलानो पुस्ताले यस्तो सुन्दर काम गरेको थियो, भन्ने इतिहास बनाएर छोड्नुपर्छ’,उनले भने, ‘जीवनमा एकपटक यस्तो महत्वपूर्ण जिम्मेवारी पाइन्छ ।’ गणेशस्थान क्षेत्र अवलोकन गर्दा सुन्दर र सम्भावनायुक्त ठाउँ देखेको मुख्यमन्त्री पौडलले बताए ।

यस्तै प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले गणेशधाम क्षेत्रका सामुदायिक वनहरुमा उत्पादनमूलक फलफूलका विरुवा रोप्न आग्रह गरे । उनले गणेशधामलाई हरियाली बनाउन कृषि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गणेशधाम निर्माणका लागि मंसिर २२ गतेदखि २९ गतेसम्म धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को आयोजना गरिएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस