गैसस महासंघको अध्यक्षमा सुरेशकुमार अधिकारी

सफल खबर संवाददाता

शनिबार, ०१ मंसिर २०७५, १६ : ४८
गैसस महासंघको अध्यक्षमा सुरेशकुमार अधिकारी

चितवन । जिल्ला गैसस महासंघ चितवनको अध्यक्षमा सुरेशकुमार अधिकारी निर्वाचित भएका छन् । अधिकारीले यसअघि गैसस महासंघको दुई पटक उपाध्यक्षको जिम्मेवारी लिएका थिए । 
गैसस महासंघ चितवनको नवौं अधिवेशनले सुरेशकुमारको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध चयन गरेको महासंघका निवर्तमान अध्यक्ष खगराज ओझाले जानकारी दिए । महासंघको सदस्यहरुमा सहदेव लकान्द्री, निराजन गौली, उर्मिला पाण्डे, रामहरि सेढाईं, पार्वती घिमिरे, रामचन्द्र आचार्य, पद्मा श्रेष्ठ, गीता राई, मिनराज भण्डारी र प्रदीप अधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष अधिकारीले कार्यसमितिको पहिलो वैठकले पद विभाजन गर्ने जानकारी दिए । 
निर्वाचितपछि अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा सबैको सहयोग लिएर अघि बढ्ने बताए । उनले भने, ‘कार्ययोजना बनाएर अघि बढ्छु, अभिलेख राख्ने गरी काम गर्छु ।’ उनले महासंघको गतिविधिको बुलेटिन निकाल्नेसमेत प्रतिबद्धता गरेका छन् । 
नारायणगढमा सम्पन्न भएको अधिवेशनको उद्घाटन गैसस महासंघका ३ नं प्रदेशका दामोदर अर्यालले गरेका थिए । कार्यक्रममा उनले गैसस महासंघले देश विकासमा ठूलो भूमिका खेलेको बताए । उनले भने, ‘अहिले देशमा भएको राजनीतिक परिवर्तनमा गैससकर्मीहरुको ठूलो योगदान छ, सरकार पुगेर काम गर्न नसकेको ठाउँमा गैससकर्मीहरु पुगेर काम गरेका छन् ।’ उनले कुनै गैससकर्मीहरुले डलरको खेती नगरेको र देशविकासमा योगदान दिइरहेको बताए । 
कार्यक्रमकी विशिष्ट अतिथि विमला दुवाडीले गैससकर्मीहरु एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताइन् । उनले भनिन्, ‘गैससमाथि लाग्ने गरेको आरोप चिर्न गैससकर्मी लाग्नुपर्छ । जुनसुकै काममा पारदर्शीता हुनुपर्छ । प्रतिबद्धता पूरा गरिनुपर्छ ।’
कार्यक्रममा सचिव कमलराज खनालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष निराजन गौलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुबै प्रतिवेदन संशोधनसहित पारित भएको थियो ।                     

प्रतिक्रिया दिनुहोस