निर्मला हत्या प्रकरण : शंकास्पद ४ जनाको डीएनए रिपोर्ट  नेगेटिभ

सफल खबर संवाददाता

शुक्रबार, ३० कार्तिक २०७५, १३ : १६
निर्मला हत्या प्रकरण : शंकास्पद ४ जनाको डीएनए  रिपोर्ट  नेगेटिभ

काठमाडौँ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप चार जनाको  डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्ट  ‘नेगेटिभ’ आएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो ।

‘पछिल्लो पटक शंकास्पद चार जनाको डिएनए परीक्षण रिर्पोट नेगेटिभ आयो, अनुसन्धान जारी नै छ आवश्यक्ता अनुसार अरुको पनि परीक्षणका लागि पठाउन सकिन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । 

यसअघि दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो । ती सवै रिपोर्ट नेगेटिभ थिए ।  

उता, निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी भने न्यायको माग गर्दै धर्ना बसेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरु धर्ना बसेका हुन् । धर्नामा बसेका निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । 

गत साउन १० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । 
 

प्रतिक्रिया दिनुहोस