शुक्रबारको हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा के हो ? : सिटौला

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, १५ : ३५
शुक्रबारको हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा के हो ? : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् । बीपी चिन्तन प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले शुक्रबारको घटनाबारे पूर्वराजाको धारणा माग गरेका हुन् ।

‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरूले जे हिंसात्मक घटना गराए त्ययो पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा भएको हो वा होइन ? हो भने उहाँले जिम्मेवारी लिनु पर्छ, होइन भने त्यसको जवाफ दिनु पर्छ,’ सिटौलाले भने । पूर्वगृहमन्त्री सिटौलाले पूर्वराजालाई सरकारले दिएको सम्मान र सुरक्षाको उनले ख्याल गर्नुपर्ने समेत बताए ।

उनले अघि भने, ‘पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरू उठान भएका छन, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको संचालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’

उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजा हुँदा जस्तै व्यवहार नदेखाउन सुझाव दिए । ‘राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?’ सिटौलाको प्रश्न थियो ।

उनले राजाहरूको पटकपटकको लोकतन्त्रमाथि अतिक्रमण गरेपछि गणतन्त्र आएको बताउँदै सिटौलाले गणतन्त्र उल्टिन नसक्ने पनि बताए ।

‘गणतन्त्र अहिलेको महान् उपलब्धि हो, राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजका महान् उपलब्धि हुन्, यी उल्टिदैनन्,’ उनले भने

सिटौलाले संविधान संशोधनका कुरा उठिरहेको भन्दै संविधान संशोधन हुनै नसक्ने जड वस्तु नभएको बताए । तर, पहिले संविधान कार्यान्वयन र राज्य संचालनको समीक्षा गरिनुपर्ने उनको भनाइ छ ।