काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छन् ।
बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थित शहरीकरण पनि एक रहेको बताएकी हुन् ।
एशिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास मूल विषय रहेको सो सत्रमा उनले भनिन्, “शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन् । तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरू निम्त्याइरहेको छ । त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ ।”
उनले सहनशील र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी गर्नुपर्ने बताइन् । शहरहरुबिचको सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसांख्यिक रूपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनुपर्नेमा उनले जोड दिइन् ।
मन्त्री डा. राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, डिजिटल डिभाइडजस्ता समस्या देखिएका चर्चा गर्दै डिजिटल भिडाइडका कारण शहरी र ग्रामीण समुदायबीचको सम्बन्धमा ठुलो खाडल पैदा भएकाले यसको सम्बोधन नगर्ने हो भने असमानता बढेर समावेशी वृद्धिलाई नै अवरुद्ध गर्ने बताइन् । त्यसैगरी यस क्षेत्रको सामाजिक सुरक्षा प्रणाली अझै अपूरो र कमजोर अवस्थामा रहेकाले यसमा विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिकेर लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।
उनले एशिया तथा प्रशान्त क्षेत्र जलवायु-जन्य विपद्को अग्रपंक्तिमा रहेको उल्लेख गर्दै हाम्रा शहर र समुदायहरू विनाशकारी बाढी, खडेरी र चरम मौसमी दुर्घटनाहरूको जोखिममा रहेका स्पष्ट गरिन् ।
उनले भनिन्, “पानीको स्रोत मात्र नभएर जीविकोपार्जन र सभ्यताको आधारका रूपमा रहेका हाम्रा हिमालयहरू जलवायु परिवर्तनको प्रभावबाट अकल्पनीय रूपमा प्रभावित भइरहेका छन् । त्यसैले जलवायु सहनशीलता तथा पूर्व सूचना प्रणालीमा लगानी बढाउनुपर्ने अहिलेको आवश्यकता हो ।”
वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवम् समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको उनले बताइन् । मन्त्री डा. राणाले आगामी मे महिनामा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको अवस्था र यसका चुनौतीको समाधानका लागि पहल गर्ने जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्र मन्त्री राणा
परराष्ट्र मन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने चीनको घोषणा
परराष्ट्र मन्त्री राणा चीन प्रस्थान
राजदूत सिफारिसलाई समितिले रिभ्यू गरे सरकारले मानहानी ठान्दैन : परराष्ट्रमन्त्री राणा