चैत्र १५ को घटना त्रासदीपूर्ण : राष्ट्रिय मुक्ति पार्टी

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, १५ : ११
चैत्र १५ को घटना त्रासदीपूर्ण : राष्ट्रिय मुक्ति पार्टी

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले शुक्रवार राजावादी समर्थकको प्रदर्शनसँगै भएको घटना त्रासदीपूर्ण रहेको बताएको छ । शनिवार सो पार्टीका अध्यक्ष महतोले एक विज्ञप्ति जारी गर्दै उक्त घटना त्रासदीपूर्ण रहेको बताएका हुन् ।

उनले लोकतान्त्रिक मूल्य मान्यता, मानवअधिकार र राष्ट्रिय एकताको पक्षमा आफूहरूको राजनीतिक मूल्य मान्यता अटुट रहेको दोहर्याउदै यसविरुद्ध हुने कुनै पनि षडयन्त्र, हिंसा वा अराजकताको  कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ : ‘हिजो चैत्र १५ गते काठमाडौँको तीनकुनेमा पूर्व राजा समर्थनहरूद्वारा प्रदर्शनको नाममा जस्तो कार्यक्रमको आयोजना भयो, त्यसलाई लोकतान्त्रिक मूल्य मान्यताको कसीमा उपयुक्त मान्न सकिन्न । जनप्रदर्शनको नाममा सङ्गठित हिंसा, आगजनी, लुटपाट र अराजकताले देशलाई नै मर्माहत बनायो भने लोकतन्त्र र शान्तिपूर्ण आन्दोलनको मर्यादामाथि पनि ठेस पुर्‍याएको छ ।’ 

विज्ञप्तिमा निजी  सम्पत्तिमाथि आक्रमण र आगजनी, राजनीतिक दलको कार्यालयमा तोडफोड र आगजनी, अन्नपूर्ण तथा कान्तिपुर मिडिया हाउसमा आगजनी, रास्वपाका प्रमुख सचेतकको गाडी जलाइनु, जडीबुटी कम्पनीमा आगजनी, सुपर मार्केटमा तोडफोड र लुटपाट, सविन महर्जन तथा पत्रकार सुरेश रजकको निर्मम हत्या जस्ता घटनाहरूले शान्तिपूर्ण आन्दोलनको चरित्रलाई कलङ्कित पारेको समेत जनाइएको छ । 

सो पार्टीले मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हिंसाको पुनरावृत्ति हुन नहुने भन्दै राज्यले पीडित परिवारहरूलाई तत्काल क्षतिपूर्ति र न्याय दिनुपर्नेमा जोड दिइएको छ । 

प्रतिक्रिया दिनुहोस