राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १३ : ०१
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा)को केन्द्रीय समितिको विस्तारित बैठक दुई दिनदेखि काठमाडौँमा जारी छ । हिजोदेखि सुरु भएको बैठकमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

पार्टीका केन्द्रीय सदस्यहरूले आआफ्नो सुझाव दिइरहेका छन् ।केन्द्रीय सदस्यहरूको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिइसकेपछि छलफलका लागि अन्य प्रस्तावहरू अध्यक्ष महतोले प्रस्तुत गर्नेछन् ।

त्यसमा मुकुमलुङ सङ्घर्ष, कोशी प्रदेश नाम खारेजीको सङ्घर्ष, मधेस सरकारको बेथिति विरुद्धको सङ्घर्ष, चुरे दोहन, गिट्टी बालुवा उत्खनन तथा वन विनाश विरुद्धको सङ्घर्ष, बागमती प्रदेश नाम खारेजी विरुद्धको सङ्घर्ष, बोझेनीको सब स्टेसन निर्माण विरुद्धको सङ्घर्ष, बालाजुको ३९ घरपरिवार उठिवास विरुद्धलगायतका संघर्षका कार्यक्रमको प्रस्ताव रहने बताइएको छ ।

त्यस्तै, पार्टी दर्ताको समयमा पार्टीको छाप ग्यास सिलिन्डर थियो, तीर धनुष राख्ने सम्बन्धमा पनि छलफल हुने बताइएको छ । पार्टीको चुनाव चिन्ह रिजर्भ गर्नका निर्वाचन आयोगमा निवेदन दिने सम्बन्धमा पनि छलफल हुने राष्ट्रिय मुक्ति पार्टी नेपालले जनाएको छ ।

पार्टीका नेताहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने सम्बन्धमा पनि पार्टीले छलफल गर्ने बैठकको एजेन्डा रहेको छ । पार्टीको केन्द्रीय कोष स्थापनाको बारेमा पनि छलफल हुने बताइएको छ ।

सङ्गठन विस्तार, अभियान तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुको साथै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको व्यक्तिगत विवरण सङ्कलन सम्बन्धमा पनि छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस