पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य : चन्द्रप्रसाद ढकाल

सफल खबर संवाददाता

मंगलबार, २० कार्तिक २०७५, १७ : ०९
पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य : चन्द्रप्रसाद ढकाल

काठमाडौँ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य भएको कुरा उल्लेख गर्नु भएको छ । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा आज राजधानीमा आयोजित ‘हिमालयन समीट’मा मुख्य वक्ताको रुपमा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गर्नु भएको हो । नेपाल र चीनबीच प्राचीन कालदेखि नै रही आएको ऐतिहासिक र संस्कृतीक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिम प्राप्त शिक्षीत युवा जनशक्ति तयार हुँदै गएको बताउनु भयो ।

काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउँदै माउन्ट एभेरेस्ट, उच्च हिमसृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताउनुभयो । यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानी कर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको नीजि क्षेत्र सवैसँग सदैव सहकार्य गर्न तयार रहेको कुरा दोहो¥याउँदै अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो । नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा प्रशन्नता व्यक्त गर्दै दुई विशाल छिमेकी मित्र राष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रुपान्तरणमा सदुपयोग गर्न नेपाली नीजि क्षेत्र तयार रहेको जानकारी दिनुभयो ।
उक्त सत्रमा चिनीया र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधि सहित करिव एक सय जनाको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस