काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राजा फर्काउन भन्दै वर्तमान व्यवस्था विरोधी दल तथा समूहका व्यक्तिहरूले पूर्वपञ्च नवराज सुवेदीलाई अघि सारेर सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेको सन्दर्भमा यसबारे बैठकमा छलफल हुने एक नेताले बताए ।
सो समितिको निर्देशक समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि राखिएको छ । तर, लिङ्देनले सल्लाहबिनै समिति भएकाले आफू नरहेको बताइसकेका छन् ।
तर, राप्रपाकै पशुपति शमशेर राणा, डा प्रकाश चन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतका नेताहरू समितिमा रहेको र उनीहरुले समितिलाई पनि स्वीकारिसकेकाले राप्रपाभित्र तरंग उत्पन्न भएको छ ।
यही विषयले पार्टीभित्र तरंग समेत उत्पन्न भएकाले आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको हो । यसअघि आइतबार बसेको कार्यसम्पादन समिति बैठकमा पनि यस विषयमा सामान्य छलफल भएको थियो । छलफल नसकिएकाले मंगलबार पनि बस्ने भनेर सो दिन बैठक सकिएको थियो ।
रातोपाटीसँग कुरा गर्दै लिङ्देनले आफू सुवेदी नेतृत्वको समितिमा नरहेको बताए । सोमबार राति रातोपाटीसँग कुरा गर्दै लिङ्देनले भने, ‘हामी यो प्रक्रियामै सामेल छैनौँ । हामीलाई जानकारी नै नभएको विषय हो ।’
पार्टीका केही साथीहरू उक्त समिति घोषणा कार्यक्रममा सोमबार उपस्थित भए पनि आफूसँग भने कुनै सल्लाह नभएको लिङ्देनको भनाइ थियो । ‘केही साथीहरू के बुझेर जानु भयो, त्यो छलफलको विषय हुन्छ । हामीलाई नवराज सुवेदीले समान विचारधारा भएका साथीहरूको बीचमा एउटा बैठक गर्ने भनेर भन्नु भएको चाहिँ हो । त्यहीअनुसार हामीले प्रतिनिधि पठाएका थियौँ’, उनले भने, ‘अहिले एक्कासि निर्णय भएको खबर आएको छ । जुन प्रक्रियामा हामी सामेल नै छैनौँ भने त्यसको बारेमा कुनै टिप्पणी छैन ।’ समितिमा आफूलाई पनि राखिएको भनेर प्रचार आएपनि थाहै नभएको समितिमा बस्ने कुरा नआउने उनको भनाइ थियो ।
यद्यपि हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको आन्दोलन जसले गरेपनि पार्टीको साथ, सहयोग र समर्थन भने स्वाभाविक हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
राप्रपाले आज जुलुससहित सभा गर्ने, सीसी क्यामेरा र ड्रोनबाट निगरानी