पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, १६ : १३
पुल निर्माणमा भ्रष्टाचार,  ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिका ६ स्थित किम्नी खोलामा ट्रस पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

अख्तियारले आइतबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु तीर्थराज थापामगर र खगेन्द्र साउदसहित त्रिवेणी नगरपालिकाका तत्कालीन इन्जिनियर नविन साउद र सबइन्जिनियर राजेन्द्र बहादुर बिक,असिस्टेन्ट सब-इन्जिनियर राजेन्द्र बहादुर साउद, किम्नी खोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध आरोपपत्र दर्ता गरेको हो ।

पुल निर्माणमा अनियमितता गरेको भन्दै परेको उजुरीमाथि छानबिन हुँदा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा किम्नी खोलामा ट्रस पुल निर्माण कार्यमा उत्खनन, ढुङ्गा सोलिङ, पीसीसी, स्टिल, स्टिल पाट्र्स र सिमेन्ट एलएस यातायातमा माटोको काम वास्तविक फिल्डमा भएको कार्य भन्दा नापी किताबमा बढी चढाइ झूटो बिल भुक्तानी गरेको देखिएको अख्तियारको भनाइ छ ।

थप लागत अनुमानमा स्टिल ट्रसको परिमाण अस्वाभाविक रुपमा बढाई ४ लाख ३१ हजार ४८६ रुपैयाँ बढी भुक्तानी गरेको देखिएको आरोपपत्रमा उल्लेख छ । यस्तै निर्माण कार्यको गुणस्तर कम गर्ने, आकार परिवर्तन गर्ने, निर्धारित शर्त र मापदण्डविपरीत निर्माण कार्य गरेको समेत देखिएको आरोप अख्तियारको छ ।

अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु थापामगर र साउदसँग क्रमश: २ लाख ६ हजार र २ लाख २४ हजार रुपैयाँ बिगो मागदाबी तथा तीन महिनादेखि १ वर्षसम्म कैद सजाय माग गरेको छ । अन्य कर्मचारीको हकमा ४ लाख ३१ हजार ४८६ रुपैयाँ बिगो माग दाबी र १ वर्षसम्मको कैद माग गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई २ वर्षसम्म कैद र बिगो जफतको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस