वीरगञ्ज झडपमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर : प्रजिअ अर्याल

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, १२ : ४४
वीरगञ्ज झडपमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर : प्रजिअ अर्याल

काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ ।

आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो जानकारी दिएका हुन् । सो घटनामा ३३ जना घाइते भएको जानकारी पनि उनले दिए ।

‘स्थिति नियन्त्रणको क्रममा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर भएको छ,’ उनले भने, ‘२५ सुुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते हुनु भएको छ ।’ उनले घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । कर्फ्यु आदेश उल्लंघन गर्नेहरु केहीलाई नियन्त्रणमा पनि लिइएको प्रजिअ अर्यालले बताए ।

दुई समुदायबीच शनिबार दिउँसो झडप भएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

‘आज राति १२ बजेसम्म निरन्तरता दिएका छौं, त्यसपछिको वस्तुस्थिति विश्लेषण गरेर थप निर्णय लिने छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस