पोखरा प्रिमियर लिग

उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा सुरु

सफल खबर संवाददाता

मंगलबार, २० कार्तिक २०७५, ११ : ५४
उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा सुरु

पोखरा । पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज फाइनल खेलमा भिडिरहेका छन् । पोखरा पल्टनले टस जितेर चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएपछि पारस खड्काको कप्तानीमा रहेको चितवन रन बटुलिरहेको छ । अहिलेसम्मको दस ओभरको खेलमा एक विकेट गुमाउँदै चितवनले ६७ रन जोडेको छ । क्रिजमा चितवन राइनोजका अनिल साह (१८ रन) र टिम कप्तान पारस खड्का (३८ रन) खेलिरहेका छन् ।

शरद भेषावकरको कप्तानीमा रहेको पोखरा लिग चरणको अंक तालिकामा ६ अंक सहित रन रेटका आधारमा शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । लिग चरणमा दुवै टोलीले समान ३ जित र २ हारका साथ ६ अंक जोडे पनि चितवन रनरेटका आधारमा दोस्रो स्थानमा सिमित भएको थियो ।दुई टोलीबीच लिग चरणमा भएको खेलमा पोखराले चितवनलाई ५ विकेटले हराएको थियो । चितवन सामु फाइनलमा पोखरालाई हराउँदै लिग चरणमा भोगेको हारको बदला लिने मौका छ भने पोखरालाई लिगमा जितेको आत्मविश्वास र घरेलु मैदान र दर्शक साथ छ ।

प्रतियोगिताको विजेताले २७ लाख रुपैया जित्नेछ । घरेलु क्रिकेटमा यो राशी सर्वाधिक हो । उपविजेताले १० लाख हात पार्नेछ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सुजुकीको मोटरसाईकल प्रदान गरिनेछ । क्रिकेट प्रतियोगितामा तीनवटा मोटरसाइकल प्रदान गरिन लागेको पनि यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस