तिहारै आयो

धनतेरसका लागि सुन र चाँदीको सिक्काको माग बढ्दो

सफल खबर संवाददाता

सोमबार, १९ कार्तिक २०७५, १४ : ४२
धनतेरसका लागि सुन र चाँदीको सिक्काको माग बढ्दो

चितवन । लक्ष्मीपूजा गर्दा सम्पत्तिको पूजा गर्ने परम्परालाई निरन्तरता दिन धनतेरसका लागि सुन र चाँदीका सिक्का किन्नेहरुको सुनचाँदी पसलमा भिड लाग्न थालेको छ । यसले गर्दा सुन र चाँदीको सिक्काको माग बढ्दो छ ।

नारायणगढको हङकङ बजारमा रहेको नारायणी बराह ज्वेलरीमा गणेश र लक्ष्मीको मूर्ती अंकित सुन र चाँदीको सिक्का किन्न ग्राहकको भिड लाग्ने गरेको छ । तिहारको लक्ष्मीपूजाको दिन धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा गर्दा धनतेरसको रुपमा सुन, चाँदी, जवाहरात र पैसाको पूजा गरिन्छ ।

धनतेरसकै लागि सुन र चाँदीका सिक्का र मूर्तीको व्यापार बढिरहेको नारायणी बराह ज्वेलर्सले जनाएको छ । नारायणी बराह ज्वेलरीका लेखा प्रमुख तिलकप्रसाद रिजालका अनुसार पसलमा पाँच ग्राम, दस ग्राम, २० ग्राम, ५० ग्राम र एक सय ग्रामका सिक्काहरु धमाधम बिक्री भइरहेका छन् । पोहोर सालभन्दा यसपालि मूर्ती र सिक्काको व्यापार राम्रो भएको उहाँको भनाइ छ ।

चितवनको नारायणगढ, भरतपुर, रत्ननगर, खैरहनी, माडी लगायतका ठाउँमा सुन र चाँदीका सिक्काको व्यापार बढिरहेको व्यवसायीहरुले बताएका छन् । तिहारलगत्तै विवाहको लगन सुरु हुने भएकोले यसबेला सुनचाँदीको व्यापार उकालो लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस