अध्यादेशबाट देश चलाउनु लोकतन्त्र होइन : चित्रबहादुर केसी

सफल खबर संवाददाता

विहीबार, २४ माघ २०८१, १५ : २६
अध्यादेशबाट देश चलाउनु लोकतन्त्र होइन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्लाई बेवास्ता गर्दै अध्यादेशको बलमा देश चलाउन खोज्नु लोकतन्त्र विरोधी कार्य भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद केसीले लोकतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी लिएका दलहरू नै यसको अभ्यासमा बारम्बार चुकेको टिप्पणी गरे।

“दुई ठूला दल मिलेर सरकार बनाएपछि लोकतन्त्रलाई व्यवस्थित गर्छन् भन्ने अपेक्षा थियो,” उनले भने, “तर संसद् नबोलाउने र अध्यादेशबाट देश चलाउने हो भने यो लोकतन्त्र होइन।”

उनले संसद् किन नबोलाइएको भन्दै सरकारलाई प्रश्न गरे। “संसद् सञ्चालन गर्न कसले रोकेको थियो?” भन्दै उनले सरकारको नियतमाथि शंका व्यक्त गरे।

प्रजातन्त्र र लोकतन्त्रका लागि लामो समय लडेका दलहरूकै व्यवहार अप्रजातान्त्रिक बन्दै गएको उनको टिप्पणी थियो।

प्रतिक्रिया दिनुहोस