संसदीय समितिले सहकारी ठगलाई नै जोगाउँछ : चित्रबहादुर केसी

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १३ : ४२
संसदीय समितिले सहकारी ठगलाई नै जोगाउँछ : चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले सूर्यदर्शन सहकारी पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्दै पुगेका सहकारी पीडितलाई प्रहरीले धरपकड गरेको र नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाएका हुन् ।

अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहयोग पुर्याउने किसान, मजदुरले जम्मा गरेको पैसामा केही टाठाबाठाहरुले रजाइँ गरिरहेको बताए । सहकारीको रकम अपचलन गर्नेहरु लुकेर बसेका र उनीहरुलाई राज्य संयन्त्रले नै जोगाइरहेको उनको दाबी छ ।

‘अपचलन गर्नेहरु अहिले कुनै कुरामा ढुक्कसँग लुकेर बसेका छन् । गण्डकीमा ढोरपाटनका सहकारी सञ्चालक पनि भूमिगत छन् । यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ । यहाँ संसद्मा भएका हाम्रा धेरै माननीयहरुलाई थाहा छ । सहकारी कसले लुटेको छ, सहकारी हिनामिना कसले गरेको छ ? त्यो कसले गरेको छ भने राज्यसत्तामा जसको रजाइँ छ उनीहरुले गरेका छन् । हुँदाहुँदा चोरलाई चौतारी, पीडितलाई दण्डा भनेकोजस्तो अहिले के भयो भने जुन सहकारी पीडित हुन्, उनीमाथि हिजो दण्डा बर्साइयो । कयौं सहकारी पीडितहरु अस्पतालमा छन्, कयौं विलखबन्दमा परेका छन्,’– उनले भने ।

सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय समितिले ठगहरुलाई नै बचाउने उनले ठोकुवा गरे । जसले सहकारी ठगी गरेको छ, उही मानिस सत्ता र शक्तिमा रहेको अवस्थामा समितिको प्रतिवेदन कार्यान्वयन हुनै नसक्ने उनले बताए । ‘अहिले जुन समिति बनेको छ, यो टालटुल गर्न हो । यो सहकारी पीडकहरुलाई जोगाउने नै हो । चोरलाई चौतारो, साधुलाई सुली भनेकोजस्तो वर्तमान स्थितिमा त्यही देखिएको छ,’– उनले भने ।

वर्तमान सरकारले लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गरेर मुठ्ठीभरका ठगहरुलाई फाइदा पुग्ने काम गरिरहेको बताए । यसको विरुद्धमा एकढिक्का भएर आवाज उठाउन उनले सबैलाई अपील गरे ।

प्रतिक्रिया दिनुहोस