प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न - मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १४ : २२
प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न - मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत बिहीबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा निरीह देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै केसीले प्रधानमन्त्रीले सम्बोधन गर्दा आफ्नै मन्त्रिपरिषद्का सदस्यहरू पनि उपस्थित नहुनु गम्भीर विषय भएको बताए ।‘अस्ति प्रधानमन्त्रीले रोष्ट्रमबाट बिलौना गर्नुभयो । प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा आफ्नै वरिष्ठ मन्त्रीहरू उपस्थित नहुने । उहाँले वैराग गर्नुभयो । कसका कारणले भयो यस्तो ?’ केसीले भने ।

६ असारमा प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले संसदमा शीर्ष नेता र सांसदहरूको उपस्थिति कम भएको गुनासो गरेका थिए ।त्यसदिन प्रधानमन्त्री संसदमा बोलिरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा थिए । तर, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ अनुपस्थित थिए ।

सांसद केसीले आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई प्रधानमन्त्रीले कस्तो शिक्षादीक्षा दिए र कस्तो कमाण्डिङ गरे भनेर पनि सोधे ।‘संसद्प्रति, गणतन्त्रप्रति, लोकतन्त्रप्रति स्वयं आफ्ना सहयोगीले यति उपेक्षा गर्दा उहाँले ती सहयोगीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ? कस्तो कमाण्डिङ गर्नुभएको छ ?’ केसीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई सोधे ।

कुनै मन्त्रीले आफ्नो जिल्लामा दशौं अर्ब थुपार्दा अन्य जिल्लाका सांसदहरु रित्तो हात निर्वाचन क्षेत्रमा जानुपर्ने अवस्था रहेको केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस