चितवनको माधवपुरमा जारी धनधान्याञ्चलमा एक करोड ३० लाख संकलन

सफल खबर संवाददाता

सोमबार, १२ कार्तिक २०७५, १७ : ५३
चितवनको माधवपुरमा जारी धनधान्याञ्चलमा एक करोड ३० लाख संकलन

- शिशिर सिंखडा
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमा जारी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको छैठौं दिन सम्ममा एक करोड ३० लाख रुपैया संकलन भएको छ । श्री आधारभूत विद्यालय साविक पिठुवा ९ मा जारी महायज्ञ एवम् ‘रत्ननगर माधवपुर श्री आधारभूत धार्मिक शैक्षिक महोत्सव – २०७५’ मा स्थानीय कृष्ण बहादुर नेपालले ३१ लाख ५० हजार रुपैया बरावरको एक कठ्ठा एक धुर जग्गा र उनका भाइ नर बहादुर नेपालले ९ लाख मुल्य बराबरको साढे चार धुर जग्गा दान गरेका छन । 
यही कार्तिक ७ गते बुधबारबाट शुरु भएको महायज्ञ भोली मंगलवार कार्तिक १३ गतेसम्म सञ्चालन हुनेछ ।  सो ज्ञान महायज्ञमा युवा पण्डित श्री ईश्वर रेग्मीले संगीतमय शैलीमा कथा वाचन गरेका छन । श्री आधारभूत विद्यालय साविक पिठुवा ९ को भवन निर्माण, चौतर्फी विकास एवम् शैक्षिक स्तरोन्नती गर्ने उद्देश्यले आयोजित महायज्ञमा २ करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको मुल समारोह समितिका संयोजक दण्डपाणी लामिछानेले बताए ।
महायज्ञबाट संकलित रकमबाट विद्यालयमा खेलमैदान निर्माण गर्ने, अक्षयकोष समेत स्थापना गरी निरन्तर रुपमा विद्यालयको भौतिक, शैक्षिक विकास गर्ने लक्ष्य रहेको समेत संयोजक लामिछानेले जानकारी दिए ।

वि.सं. २०४६ सालमा स्थापना भएको यस विद्यालयको ७ कठ्ठा १ धुर जग्गा रहेको छ । विद्यालयमा हाल १ देखी ७ कक्षासम्म अंग्रजी माध्यममा पठनपाठन हुँदै आएको छ । आगामी वर्ष कक्षा ८ मा पनि अंग्रेजी माध्यममा पढाई हुने बताइएको छ । महायज्ञको उद्घाटन पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डे यही कार्तिक ७ गते बुधबार उद्घाटन गरेका थिए । सो महायज्ञमा सयौं भक्तजनहरुको सहभागिता रहेको छ । हरेक साँझ भजनकृतन समेत भइरहेको छ । 
महायज्ञका पण्डितद्धारा एकलाख दान 
श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा कथाबाचन गरिरहेका युवा पण्डित इश्वर रेग्मीले एक लाख ११ हजार १ सय ११ रुपैया दान गरेका छन । साथै उनले महायज्ञमा कथाबाचन गरेबापत पाउने रकम नलिने घोषणा गरेको आयोजकले जनाएको छ । 
सोही विद्यालयमा अध्ययन गरेका पण्डित रेग्मीले आफै पढेको विद्यालयको विकासको लागि आफ्नो तर्फबाट सहयोग गर्न पाउदा खुसी लागेको बताए । सो रकम उनका बुवा रामप्रसाद रेग्मी मार्फत दान गरिएको हो । 

प्रतिक्रिया दिनुहोस