छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०५ माघ २०८१, १६ : ४४
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, म्याग्दी, धादिङ, चितवन लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ थुमपाखरस्थित सडकमा मधेस प्र.०३. ००२ ख ०५३४ नम्बरको ट्रकले बा.प्र.०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकल र बा.प्र ०२–०४८ प ७५३९ नम्बरको स्कुटरलाई शुक्रवार दिउँसो ठक्कर दिँदा बा.प्र.०२–०३३प.७३०६ नम्बरको मोटरसाइकलका चालक लिसंखुपार गाउँपालिका–७ डाडाँपाखर बस्ने ३७ वर्षीय दावा छिरिङ लामाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जना सिन्धु सदाबहार खाडिचौरमा उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै म्याग्दीको बेनी नगरपालिका–६ जरबुट्टास्थित सडकमा बेनीबाट जरबुट्टातर्फ जाँदै गरेको ग.१ ज ५९९१ नम्बरको बोलेरो जिप गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता धादिङको थाक्रे गाउँपालिका–८ चारकिलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय साईबाबा

सामुदायिक अस्पताल धार्के हुँदै ट्रमा सेन्टर काठमाडौँमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै नवलपरासी पूर्वको कावासोती नगरपालिका–३ सभापतिचोकस्थित सडकमा दिल्लीदेखि काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय मानबहादुर सुनारको शुक्रवार बेलुकी मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिवनसिटी अस्पताल हुँदै नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका५ चाँदनी चोकस्थित सडकमा बा.१५ च ९१४ नम्बरको स्कार्पियोले ना.३२ प ४३८६ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कार्पियोमा सवार मध्यबिन्दु नगरपालिका–१२ नवलपुर बस्ने २१ वर्षीया प्रिति ग्रन्जा मगरको मृत्यु भएको छ । शुक्रवार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवन हुँदै ग्राण्डी अस्पताल काठमाडौँमा थप उपचारको क्रममा शनिवार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर

चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु. १४ प ८४३९ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा स्कुटरमा सवार भारत पश्चिम चम्पारण बिहार घर भई रुपन्देही बुटवल उपमहानगरपालिका-११ देविनगर बस्ने १८ वर्षीय रन्जितकुमार दास र २५ वर्षीय किसानकुमार दासको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रन्जित कुमार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको हो भने किसान कुमारको उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका(२ मनकामना मन्दिरस्थित सडकमा प्रदेश ३–०२–०१४ प २१९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिवार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हाल नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै स्याङ्जाको आँधीखोला गाउँपालिका–५ कृषिस्थित सडकमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग.१ क ५१३९ नम्बरको टिपर शुक्रवार राति दुर्घटना हुँदा चालक पर्वत कुश्मा नगरपालिका–१४ बस्ने ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै बाँकेका राप्ती सोनारी गाउँपालिका(२ टिक्लीपुरको ओरालोस्थित सडकमा हरिहरपुरबाट टिक्लीपुरतर्फ जाँदै गरेको भे.१२ प २६२० नम्बरको मोटरसाइकल शनिवार बिहान दुर्घटना हुँदा चालक राप्तीसोनारी गाउँपालिका–८ धरमोती बस्ने २९ वर्षीय सुरज थारू र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ राजपुर बस्ने ४० वर्षीया सिताकुमारी  थारूको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुर हुँदै नर्सिङहोम नेपालगन्ज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।