पीपीएल टी–२० क्रिकेट

चितवन राइनोज्लाई ७० रनले हरायो बुटवल ब्लास्टर्सले, चार विकेट लिएर चम्किए सोमपाल

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०७५, १२ : ३३
चितवन राइनोज्लाई ७० रनले हरायो बुटवल ब्लास्टर्सले, चार विकेट लिएर चम्किए सोमपाल

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोज्लाई ७० रनले हराएको छ । एक सय ३६ रनको लक्ष्य पाएको चितवन राइनोज्ले निर्धारित २० ओभरको खेलमा १६ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै ६५ रनमात्र जोडेको थियो ।

चितवन राइनोज्का ओपनर बलर करन केसीले पहिलो ओभरको अन्तिम दुई बलमा दुई विकेट लिएर बुटवल ब्लास्टर्सका समर्थकलाई स्तब्ध बनाइदिएका थिए भने खेलको दोस्रो इनिङमा सोमपाल कामीले चार विकेट लिएर चितवन राइनोज्का समर्थकलाई स्तब्ध बनाए । टस जितेर पहिले फिल्डिङ रोजेको चितवन राइनोज्ले जवाफी ब्याटिङ राम्रो गर्न सकेन ।

बुटवल ब्लास्टर्सका प्रमुख खेलाडी सोमपाल कामीले पहिलो ओभरमा चितवन राइनोज्का अनिल साहलाई शुन्य रनमा समेट्दै पहिलो विकेट लिएका थिए । त्यसपछि उनले चितवन राइनोज्का शक्ति गौचन र आरिफ सेखलाई पेभिलियन फर्काएका थिए । बलिङमा जमेका सोमपालले समित पटेललाई पनि आउट गरे ।

चितवन राइनोज्का दुई जना विदेशी खेलाडी समित पटेल र सन्नी पटेलले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । सन्नी पटेल बुटवल ब्लास्टर्सका ललित भण्डारीको बलिङमा पेभिलियन फर्किए । चितवन राइनोज्का शक्ति गौचन बुटवल ब्लास्टर्सका अविनाश बोहराको बलिङमा आउट भए ।

पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लीगको आज शनिबारको दोस्रो खेल सवा एक बजे काठमाडौँ रोयल्स र धनगढी ब्लुजबीच हुँदैछ ।

प्रतिक्रिया दिनुहोस