पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोज्लाई एक सय ३६ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै बुटवल ब्लास्टर्सले एक सय ३५ रन जोडेको थियो ।
चितवन राइनोज्का ओपनर बलर करन केसीले पहिलो ओभरको अन्तिम दुई बलमा दुई विकेट लिएर बुटवल ब्लास्टर्सका समर्थकलाई स्तब्ध बनाइदिए । खेलको पाँचौं बलमा बुटवलका चिराग सुरीलाई एक रनमा समेट्दै आउट गरेका केसीले सुरीपछि खेल्न आएका रोहन मुस्तफालाई पहिलो बलमै पेसिभलियन फर्काइदिएका थिए । टस जितेर पहिले फिल्डिङ रोजेको चितवन राइनोज्ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
बुटवल ब्लास्टर्सका प्रमुख खेलाडी सोमपाल कामीले पहिलो ओभरमा चितवन राइनोज्का अनिल साहलाई शुन्य रनमा समेट्दै पहिलो विकेट लिएका छन् । साह पेभिलियन फर्किएपछि मैदान छिरेका चितवन राइनोज्का प्रमुख खेलाडी पारस खड्काले ललित भण्डारीको पहिलो र तेस्रो बलमा चौका प्रहार गरेका छन् । तेस्रो ओभरको समाप्तिसम्म चितवन राइनोज्ले चार विकेटको क्षतिमा १२ रन जोडेको छ ।
भण्डारीले दोस्रो ओभरको अन्तिम बलमा चितवन राइनोज्का सोनु तामाङलाई पेभिलियन फर्काएका छन् । तेस्रो ओभरमा पुनः बलिङ गर्न आएका सोमपाल कामीले दोस्रो बलमा पारस खड्का र तेस्रो बलमा आरिफ सेखलाई आउट गरेपछि चितवन राइनोज् दबाबमा आएको छ । अहिले चितवन राइनोज्का दुई जना विदेशी खेलाडी समित पटेल र सन्नी पटेल क्रिजमा खेलिरहेका छन् । खेल जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०७५, ११ : १६
लेखकबाट थप