सत्तारुढ दल नेकपाले बल्ल पायो वैधानिकता

सफल खबर संवाददाता

शुक्रबार, ०९ कार्तिक २०७५, १७ : ०७
सत्तारुढ दल नेकपाले बल्ल पायो वैधानिकता

काठमाडौँ । निर्वाचन आयोगले माओवादी केन्द्र र एमाले एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा)  नै कायम रहने निर्णय गरेको छ ।
शुक्रबार बसेको आयोगको पदाधिकारी बैठकले नामको विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को पक्षमा निर्णय गरेको हो । 

ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो । आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को अलग अलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको हो । फैसलाअघि दुबै नेकपाका प्रतिनिधिसँग आयोगले गत वुधबार छलफल गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस