यी हुन् चितवन राइनोजबाट खेल्ने विदेशी खेलाडी

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०७५, १५ : ५५
यी हुन् चितवन राइनोजबाट खेल्ने विदेशी खेलाडी

चितवन । यही कार्तिक ९ गते देखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग प्रतियोगिताको टिम चितवन राइनोजले लिग खेल्ने २ बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

चितवन राइनोजको कप्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका पारस खड्काले गर्नेछन् जो टिमको मार्की प्लेयर समेत रहेका छन् ।

सहभागी ६ वटा टिमले २ जना बिदेशी खेलाडी टिममा राख्नै पर्ने नियम अनुसार राइनोजले २ जना बिदेशी खेलाडीको नाम मंगलबार सार्वजनिक गरको हो ।

को हुन् चितवन राइनोजबाट खेल्ने २ विदेशी खेलाडी ?

चितवन राइनोजले आफ्नो टिममा २ जना भारतीय खेलाडी सन्नी पटेल र स्मित पटेललाई समाबेस गरेको छ । सन्नी र स्मित दुवै भारत गुजरातका हुन् ।

धनगढी प्रिमियर लिगमा तहल्का मचाएका सन्नी पटेल 

यस अघि धनगढी प्रिमियर लिगको पछिल्लो सिजनमा काठमाडौँ गोल्डेन्स र एभरेस्ट प्रिमियरको पछिल्लो सिजनमा ललितपुर प्याट्रीएट्सको लागि खेलीसकेका सन्नी पटेल गुजरातको लागि रणजी ट्रफी खेलाडी सकेका खेलाडी हुन् ।

३१ बर्षिय दायाँ हाते सन्नी पटेल लेग स्पिन बलिङ्ग गर्ने गर्छन् र आक्रामक ब्याटिंग समेत गर्नेगर्छन् ।
धनगढी प्रिमियर लिगको अघिल्लो सिजनमा काठमाडौँ गोल्डेन्सलाई फाइनल पुर्याउन महत्वपूर्ण योगदान दिएका सन्नी पटेलले क्वालीफायरमा महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दा अपत्यारिलो बलिङ्ग गर्दै एक्लै ६ विकेट (  ४-१-१०-६ ) लिएका थिए। प्रतियोगिताभर ८ खेलमा कुल १३ विकेट लिएका पटेल सर्वाधिक विकेट लिने सुचीमा ललित भण्डारी ( १४ ) पछि दोश्रो नम्बरमा थिए ।

यस्तै सन्नीले ब्याटिंगमा पनि  योगदान दिने क्रममा रुपन्देही च्यालेंजर्स बिरुद्ध  लिग चरणको खेलमा आक्रामक ४८ रन बनाउने क्रममा १९ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।

यस्तै २०१७ डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सको लागि खेलेका सन्नी पटेलले राम्रो प्रदर्शन गरेका थिए । ललितपुरलाई प्लेअफसम्म पुर्याउन पटेलले अलराउण्ड प्रदर्शन गर्दै ४ खेलमा ५ विकेट तथा कुल ६६ रन समेत बनाएका थिए ।

स्मित पटेल 
गुजरातको लागि अन्डर २३, अन्डर १९ र अन्डर १६ मा प्रतिनिधित्व गरिसकेका स्मित पटेल देब्रे हाते स्पिनर तथा मध्ये क्रमका ब्याट्सम्यान हुन् ।

यस अघि नेपालमा नखेलेका स्मित सिनियर स्तरमा गुजरातको लागि नखेले पनि यु-२३ स्तरमा आफ्नो अल-राउण्ड क्षमताको कारण परिचित छन् । उनले सन् २०१५ मा मुम्बई यु-२३ बिरुद्धको खेलमा अविजित ९३ रनको इनिंग खेलेका थिए भने बलिङ्गमा पनि प्राय खेलमा टिमलाई विकेट दिलाएका छन् ।
चितवन राइनोजमा पारस खड्का सहित अनिल साह, करन केसी, आरिफ शेख, शक्ति गौचन, भुवन कार्की, रामनरेश गिरि जस्ता राष्ट्रिय खेलाडीहरु रहेका छन् । यस्तै बिनोद लामा, हरिशंकर शाह, सोनु तामांग र सुमित महर्जन अन्य खेलाडी रहेको टिमलाई लिगकै बलियो टिमको रुपमा हेरीएको छ ।

चितवन राइनोज ( मार्की प्लेयर – पारस खड्का )
खेलाडी र पाएको मूल्य – अनिल साह ( २,५०,००० ) , भुवन कार्की ( १,५०,००० ) , रामनरेश गिरि ( ८५,००० ) , करन केसी ( २,५०,००० ) , आरिफ शेख ( २,५०,००० ) , सुमित महर्जन ( ५०,००० ) , सोनु तामांग ( ८५,००० ) , बिनोद लामा ( ७०,००० ) , हरि शंकर साह ( ९०,००० ) , शक्ति गौचन ( २,१०,००० )

प्रिमियर लिगमा कुल ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन् ।

प्रिमियर लिग कार्तिक ९ गते देखि सुरु भइ फाइनल खेल कार्तिक २० गते ( अक्टोबर २६ – नोभेम्बर ६ ) खेलिनेछ। कुल १२ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( कार्तिक १३ गते र कार्तिक १९ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्। लिगको प्रत्यक्ष प्रशारण हिमालय टिभी एचडीले गर्नेछ ।

यो पटक लिगमा धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा गरिए जस्तो ३ वटा क्वालीफायर खेलहरु हुने छैनन् । पोखरा प्रिमियर लिगको लिग चरणमा उत्कृस्ट हुने टिम सिधै फाइनल प्रवेश गर्नेछ भने एक मात्र इलिमिनेटर खेलमा लिगको दोश्रो र तेश्रो स्थानमा हुने टिमले प्रतिस्पर्धा गर्नेछन् र बिजयी टिमले लिग चरणको बिजेतासंग फाइनल खेल्नेछ ।

पोखरा प्रिमियर लिगको बिजेताले २७ लाख  पुरस्कार पाउने छ ।  प्रतियोगिताका उपविजेता टोलीले रु १० लाख  पाउने छ भने ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ‘ब्याट्सम्यान’ र उत्कृष्ट ‘बलर’ले सुजुकी जिक्सर १५५ सिसीको एक÷एक थान मोटरसाइकल पाउनेछन् । 

प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीले रु १० हजार र प्रायोजकहरुबाट पाँच हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै पिपिएलको प्रत्येक खेलको विजेता टोलीले रु १५ हजार पाँच सय प्राप्त गर्नेछ । 

प्रतियोगिताको लागि खेलाडी चयन गर्न अक्सन असोज १४ गते सम्पन भइसकेको छ जसबाट ६९ खेलाडीहरु चयन भएका छन् । अक्सनमा सागर पुन, करन केसी, अनिल साह, आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल र बिनोद भण्डारीले सर्वाधिक २ लाख ५० हजार मूल्य पाएका थिए । प्रत्येक टिमले २ जना बिदेशी खेलाडी अनिवार्य राख्नु पर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस