काठमाडौं । साझा यातायातले मंगलबारदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।
एडीबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनका लागि खरिद गरेका पाँचवटा अत्याधुनिक एवं सुविधासम्पन्न बसहरु तत्कालका लागि साझा यातायातले कोषसँगको सहकार्यमा राजधानीमा सञ्चालन गर्ने जिम्मेवारी लिएर सञ्चालनमा ल्याएको हो ।
बिजुली बस नाम दिइएको उक्त बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकबाट सिंहदरबारसम्म यात्रा गरे । बसमा प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए ।
प्रधानमन्त्री ओलीले यस्ता बसहरुलाई बढाउँदै लग्ने र पेट्रोलियम पदार्थको खपत गर्ने योजना सरकारको भएको जानकारी गराए । बिजुली बसले वातावरणसँगै जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले यस सम्बन्धि राष्ट्रिय कार्ययोजना निर्माण गरिएको समेत उनले बताए । प्रधानमन्त्री ओलीले सन् २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०७५, १४ : २३
लेखकबाट थप