उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा मतदान जारी

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०८१, १० : ५७
उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा मतदान जारी

सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहमा रिक्त ८ जनप्रतिनिधि चुन्न उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रूपमा मतदान मतदान भइरहेको छ ।

प्रदेशका विभिन्न पालिकामा एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपप्रमुख, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । प्रदेशका ८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

कर्णालीका उपनिर्वाचन हुने सबै स्थानमा निर्धारित समयमै मतदान सुरु भएको निर्वाचन आयोगका सहप्रवक्ता दुर्गा चालिसेले जानकारी दिए । कर्णालीमा दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि मतदान भइहरेको छ ।

त्यस्तै दैलेखको दुल्लु नगरपालिका-१३, कालिकोटको तिलागुफा नगरपालिका-४, जाजरकोटको कुसे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा वडाध्यक्ष पदमा उपनिर्वाचनका लागि मतदान भइरहेको छ ।

दैलेखको महाबुमा नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् । महाबुमा नौ मतदानस्थल र १६ मतदान केन्द्र तोकिएका छन् ।

नलगाड नगरपालिकाको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् । यस्तै रास्वपाले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ । नलगाडको उपप्रमुख पदका लागि हुने निर्वाचनमा १६ मतदान स्थलमा २४ मतदान केन्द्र तोकिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ जना मैदानमा छन् । यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना उम्मेदवार छन् । यस्तै राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् । सर्केगाडको उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेका छन् ।

जाजरकोटकै कुसे गाउँपालिका– ७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ । यहाँ वडाध्यक्ष पदका लागि चार जना चुनावी मैदानमा छन् ।

दैलेखकै दुल्लु नगरपालिका-१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । त्यसका लागि दुई मतदानस्थल र चार मतदान केन्द्र तोकिएको छ । दुल्लु-१३ को वडाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदान स्थलमा दुई वटा मतदान केन्द्र तोकिएको छ । सानीभेरी-५ को वडाध्यक्षमा चार जना चुनावी प्रतिस्पर्धामा छन् । कालिकोटको तिलागुफा नगरपालिका–४ मा पनि वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । यहाँ एक मतदानस्थल रहेको छ भने वडाध्यक्षका लागि ६ उम्मेदवार चुनावी मैदानमा छन् ।

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-५ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र एक मतदान केन्द्र तोकिएको छ । त्रिपुरा सुन्दरी-५ को वडाध्यक्षका लागि चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको सह प्रवक्ता चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस