काठमाडौं । काठमाडौं उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन आज अस्तव्यस्त हुने सम्भावना देखिएको छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।
आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् ।
एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्याली निकाल्ने एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको छ । त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।
दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।
यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राख्ने छन् । सहकारी पीडितहरु पछिल्लोपटक मंसिर ५ गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।
यसैगरी दुर्गा प्रसाईं समर्थकहरुले पनि आज काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरुले प्रदर्शन गर्न लागेका हुन् । दुर्गा प्रसाईं हाल प्रहरी नियन्त्रणमा छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले काठमाडौं उपत्यकामा हुने प्रदर्शनलाई लक्षित गरी ट्राफिक व्यवस्थापन र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए । ‘हामीले आम नागरिकको सुविधा र शान्ति सुरक्षा कायम हुने गरी आवश्यक प्रवन्ध मिलाएका छौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ
उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल
काठमाडौँ उपत्यकामा बाढी, ३६ जनाभन्दा बढीको उद्धार
काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा १६ प्रतिशतले कमी
काठमाडौं उपत्यकामा रातिसम्म वर्षाको सम्भावना
१ किलो ७६८ ग्राम सुन र करिब डेढ करोड रुपैयाँसहित ७ जना पक्राउ