कर्णाली । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका हुन् ।
कर्णालीमा नलगाड नगरपालिकाको उपप्रमुख, महावु गाउँपालिका दैलेखको अध्यक्ष, सर्केगाड गाउँपालिको उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।
नगर उपप्रमुखका लागि छ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि सात–सात पाँच वडाध्यक्ष पदका लागि २४ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको विसं २०८० कात्तिक १८ गतेको भूकम्पमा परी निधन भएपछि रिक्त रहेको पदमा नेपाली कांग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादीबाट पवित्रा जैशीले मनोनयन गर्दा गरेका छन् ।
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गैडाबाज दैलेखका अनुसार नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल मगर, नेकपा (एकीकृत समाजवादी)बाट जगतबहादुर हमाल, एमालेबाट जङ्गबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी, दुल्लु नगरपालिका–१३ दैलेखको वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट रेशमबहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम मल्ल गरी छ जनाले उम्मेदवारी दिएका छन् ।
दैलेखको महाबु गाउँपालिका अध्यक्ष निर्वाचित कांग्रेसका लछुमन गुरुङको ७६ वर्षको उमेरमा विसं २०७९ माघ २७ गते निधन भएको थियो । एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा विसं २०८० माघ २२ गते निधन भएको थियो ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा बस दुर्घटना हुँदा विसं २०८१ भदौ ४ गते मृत्यु भएको थियो । उनी माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसका सविता बुढा, एमालेका जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट सङ्गीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबा बाँचा बुढाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सो पदका रामसरा खड्का साउद र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु