अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास: नेता केसी

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, १४ : १४
अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास: नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास भएको टिप्पणी गरेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै कानुनी प्रक्रियाको कारबाही चलिरहँदा पोखरामा दबाबमूलक कार्यक्रम गरेर अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास र अविश्वास प्रदर्शित  गर्नु भएको उनको टिप्पणी छ ।

‘संविधानको धारा १७ को संवैधानिक हकको निर्बाध उपयोगको अधिकार प्रत्येक व्यक्ति वा संस्थाहरूको अक्षुण्ण अधिकार हो। तर प्रतिबन्धात्मक खण्डले अदालतको मानहानीलाई निषेध गरेको छ भने अदालतका कार्यमा अनावश्यक प्रभाव पार्ने कार्य गर्नु हुँदैन भन्ने हेक्का पनि त्यत्तिकै राख्नु जरुरी छ।

किनकि यो विधि र प्रक्रिया माथिको अनावश्यक हस्तक्षेप हो’, केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।रविले सहकारी छानबिन प्रकरणमा अदालतमाथि विश्वासको अभिव्यक्ति  दिएपनि सँगसँगै पोखरामा देशभरका कार्यकर्तालाई जम्मा गरेर  गरिएको आन्दोलन गर्नु गलत भएको उनको भनाइ छ ।

यसअघिको पनि यस्ता धेरै थुनछेकका घटनाहरू भएको उल्लेख गर्दै केसीले त्यतिबेला अदालती प्रक्रियामा दबाब दिने काम नभएको उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस