इजरायलद्वारा अस्पतालमा आक्रमण

सफल खबर संवाददाता

शनिबार, ०३ कार्तिक २०८१, १५ : ३३
इजरायलद्वारा अस्पतालमा आक्रमण

गाजास्ट्रिप । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका सेवाहरु अवरुद्ध गरी अस्पतालका भवनहरुलाई निशाना बनाइ आक्रमण गरेको स्वास्थ्य सेवा निर्देशक मारवान सुल्तानले बताएका छन् । उनका अनुसार आक्रमणका कारण उक्त क्षेत्रका “चिकित्सा कर्मचारी तथा बिरामीहरू गम्भीर जोखिममा रहेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरुमा  लक्षित गरी गरिएको आक्रमणमा “मेडिकल स्टाफका अतिरिक्त ४० जना भन्दा बढी बिरामी  घाइते भएको जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठूलो त्रास  निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस महिनाको सुरुमा उत्तरी गाजामा नयाँ आक्रमण सुरु गरेको इजरायलले पुनः समूहबद्ध भएका हमास लडाकुलाई लक्षित गरेको जनाइएको छ ।   गाजाको नागरिक सुरक्षा एजेन्सीले यस अघि नजिकैको जबालियामा भएको इजरायली हमलामा ३३ जनाको मृत्यु भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला एजेन्सीले “उत्तरी गाजामा सर्वसाधारणले सामना गरिरहेको  डरलाग्दो र खतरनाक अवस्थाबारे चेतावनी जारी गर्दै यहाँका बासिन्दाहरु निरन्तरको आक्रमणका कारण पिडादयी अवस्थाको बीचमा बाँच्न बाध्य रहेको शुक्रबार जनाएकोछ ।  

प्रतिक्रिया दिनुहोस