काठमाडौं। इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताका लागि चाँडै वार्ता शुरू हुने बताइएको छ ।
इजरायलले युद्धविराम सम्झौतासम्बन्धी वार्तालाई अघि बढाउन आफ्नो प्रतिनिधिमण्डललाई कतार पठाउने घोषणा गरेको छ । उता, हमासले पनि इजिप्ट र कतारका मध्यस्थहरूसँग युद्धविराम सम्झौतासम्बन्धी वार्ता शुरू गर्न सकारात्मक संकेत दिएको छ ।
इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता मार्चको शुरूआतमा समाप्त भइसकेको छ । अब दोस्रो चरणको सम्झौताका लागि छलफल हुने भएको छ ।
अमेरिका पनि मध्यस्थता वार्तामा सहभागी हुने इजरायलका प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार अमेरिकाको मध्यस्थतामा हुने वार्तामा सहभागी हुने आमन्त्रणलाई इजरायलले स्वीकार गरिसकेको छ ।
यद्यपि, यसबारे थप जानकारी दिइएको छैन । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौतासम्बन्धी वार्ता एक महिनाअघि नै शुरू हुनुपर्ने थियो । अमेरिका पनि हमाससँग वार्ता शुरू गर्ने तयारीमा रहेको जनाइएको छ । तर, इजरायलले भने अमेरिकाले हमाससँग प्रत्यक्ष वार्ता गर्न खोजेकोप्रति कडा विरोध जनाएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका विश्वासपात्र रोन डेर्मर र अमेरिकी विशेष प्रतिनिधि एडम बोहलरबीच यस विषयमा चर्को विवादसमेत भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एडम बोहलरलाई बन्धक मामिलाका लागि आफ्नो विशेष प्रतिनिधिको रूपमा नियुक्त गरेका छन् ।
इजरायलद्वारा हमासमाथि दबाब
गत हप्ता इजरायलले युद्धविराम सम्झौताको विस्तार तथा बाँकी रहेका बन्धकमध्ये आधालाई रिहाइ गराउन हमासमाथि दबाब सिर्जना गरेको थियो । तर, दुवै पक्षबीच सहमति हुन सकेन । हाल हमाससँग २४ जना बन्धक र ३५ वटा शव रहेको बताइन्छ । इजरायलले गत हप्ता गाजामा आपूर्ति रोक्ने निर्णय गरेको थियो, जसबाट हमासलाई दबाब दिन सकियोस् भन्ने उसको उद्देश्य थियो ।
पहिलो चरणको सम्झौता अन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई रिहा गरेको थियो भने ८ वटा शव इजरायललाई हस्तान्तरण गरेको थियो । त्यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको थियो । इजरायलले गाजाको बफर जोनबाट आफ्ना सैनिकहरू फिर्ता बोलाएपछि हजारौं प्यालेस्टिनीहरू गाजामा पुनः फर्कन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रमजानका लागि इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविराम अवधि
विपिनको सुरक्षित रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छः इजरायली राष्ट्रपति
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
इजरायली क्याबिनेटबाट गाजासङ्ग युद्ध विराम स्वीकृत
यमनमा इजरायलले गरेको आक्रमणमा ९ जनाको मृत्यु