काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, १६ : २७
काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ, गोकर्णेश्‍वर नगरपालिका-९ नेपाल मेडिकल कलेजस्थित सडकमा भे.१ क १५६ नम्बरको मिनिट्रक पल्टिँदा सोही मिनिट्रकले च्यापिएर पैदलयात्री गोकर्णेश्‍वर नगरपालिका-९ आरूबारी बस्ने ५५ वर्षीया पबित्रा रिसालको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-८ फुलबारीस्थित सडकमा चितवनदेखि बुटवलतर्फ जाँदै गरेको लु.३४ प ३०७७ नम्बरको मोटरसाइकल राजमार्ग निर्माणको लागि चलाईरहेको ग्रेडरमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रूपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २१ वर्षीय सागर क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ग्रेडर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा म.प्र.०३-००१ ख ८७८६ नम्बरको बसले बा.५९ प २१० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिदाँ मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका-१६ टागिया बस्ती बस्ने ४५ वर्षीय अम्मर बहादुर घिसिङको उपचारको लागि नारायाणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने मोटरसाइकलमा सवार ४० वर्षीय मनोहर सुस्लिङ मगरको सिटी स्टार अस्पताल सिमरा हुँदै एलएस न्यूरो परवानीपुरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट, शिवपुरी गाउँपालिका-८ काफलडाँडास्थित सडकमा काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.१४ च ३८५४  नम्बरको हाईलक्स गाडी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालक समेत अन्य ५ जनालाई उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज र ग्राण्डी अस्पताल काठमाडौँमा पठाएको छ । 

प्रतिक्रिया दिनुहोस